मा.वि अश्वाराका विद्यार्थीहरुको नि:शुल्क रक्त समुह जाँच

तुलसीपुर, २४ जेठ ।
तुलसीपुर ८ स्थित माध्यमिक विद्यालय अश्वारा मा विद्यार्थीहरूको नि:शुल्क रक्त समुह जाँच तथा रक्तदान सम्बन्धि उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूको नि:शुल्क रक्त समुह जाँच गरी उनीहरूलाई रक्तदान मा उत्प्रेरित हुनको लागी रक्तदान का फाईदा र बेफाइदा बारे पनि बुझाइएको हो । नेपाल रेडक्रस सोसाइटी दाङ , सिटी हस्पिटल तुलसीपुरको प्राविधिक सहयोग एवम् थर्ड आई नेपाल को आयोजनामा विद्यार्थीहरूको रक्त समुह जाँच गरी उनीहरूलाई रक्तदान सम्बन्धि उत्प्रेरणा कार्यक्रम सम्पन्न गरिएको हो ।
समाजसेवी जित बहादुर के.सी को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिको रूपमा भिमलाल मरासैनी , अतिथिहरूमा लेखमणी खत्री ( लक्ष्मण ) सन्तोष लामिछाने , रेश्म बस्याल हुनुहुन्थ्यो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि के.सी ले बिद्यार्थीहरूलाई आफ्नो रक्त समुह जाँच गरी आवश्यक परेको बेला रक्तदान गर्न पछि नहट्न आग्रह गर्दै, सबै भन्दा ठुलो दान भनेको रक्तदान भएको कुराको बारेमा बुझाउनु भएको थियो ।
विशिष्ट अतिथि मरासैनी ले हरेक स्वस्थ पुरूष ले हरेक ३-३ महिना र महिला ले हरेक ४-४ महिनामा रक्तदान गर्न मिल्ने भएको हुँदा, रक्तदान गर्दा स्वास्थ्यमा त्यस्तो कुनै समस्या नहुने भन्दै आफुले अहिले सम्म ५०औँ पटक रक्तदान गरिसकेको प्रत्यक्ष उदाहरण सुनाउनु भएको थियो ।


कार्यक्रमका सभाध्यक्ष बसन्त गिरीले कुनैपनि व्यक्तिको रगत अभावका कारण मृत्यु नहोस भन्ने उद्देश्यले यसरी रक्त समुह जाँच गराई डाटा राख्ने र अत्ति आवश्यक अवस्थामा सम्पर्क मा ल्याउन सहज हुने भन्दै आफुहरूले यस्तो कार्यक्रम गर्ने गरेको बताउनु भएको थियो ।
थर्ड आई नेपाल कि सदस्य शोभा अधिकारी को स्वागत मन्तव्य बाट सुरू भएको कार्यक्रम को सहजीकरण संस्था कि सदस्य पूर्णिमा बस्नेत ( सपना ) ले गर्नु भएको थियो ।