विजौरी–कोठेरी सडक स्तरबृद्धि हुँदै

दीपक बोहरा
तुलसीपुर,१९ असोज ।
दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरबृद्धि अन्तर्गत ड्रेन निर्माण तथा सववेस काम अन्तिम चरणमा पुगेको छ । ४४ करोड ८७ लाख लागतमा १५.५८ किलोमिटर सडक कालोपत्रे हुन लागेको हो । लुम्बिनी प्रदेश सरकार अन्तर्गत सञ्चालित ग्रामिण सम्पर्क सुधार परियोजा अन्तर्गत उक्त सडक बिजौरी–बसदबारा–जमुनी–लक्ष्मीपुर–दक्षिण कुररिया–कञ्जवारहुँदै कोठरीसम्म निर्माण हुनेछ ।

सववेस निर्माण पूरा भएसंगै कालोपत्रेको काम सुरु हुने निर्माण कम्पनी एमसी–एएनएस विजी जेभि, काठमाडौंका प्रतिनिधि सिलन बरालले बताउनुभयो ।

उहाँका अनुसार निर्माण कार्यलाई छिटो सम्पन्न गर्न तुलसीपुर उपमहानगरपालिकामा सूचीकृत व्यवसायी तथा निर्माण सामग्री आपूर्तिकर्ता र रेन्टल सेवा प्रदायकसँग सहकार्य गरिएको समेत उहाँको भनाई छ । उहाँका अनुसार स्थानीय निर्माण व्यवसायीहरूसँगको समन्वयमा आवश्यक निर्माण उपकरण, सामग्री र जनशक्ति परिचालन गरिएको निर्माणको काममा सहज भएको हो ।


अस्फाल्ट प्रबिधिबाट उक्त सडक कालोपत्रे हुनेछ । त्यसकालागि आवश्यक अस्फाल्ट प्लानलगायतका उपकरणहरू जडान भइसकेका छन् ।

दशैंअघि बेस तथा सबबेसको काम पूरा गरेर बाँकी फिजाउने, मिलाउने र पेल्ने काम समेत पूरा गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो । यसरी सबबेसको काम गर्दा सडकलाइ गुणस्तरलाई समेत ध्यानमा राखिएको प्रतिनिधि बरालले बताउनुभयो । २०८१ फागुन २० गते सम्झौता गरेर काम सुरु गरिएको २०८३ चैत भित्र काम सक्ने निर्माण कम्पनीको तयारी छ । निर्धारित समयमै काम पूरा गर्ने लक्ष्य अनुसार काम गरिरहेको समेत बरालको भनाई छ ।