
दीपक बोहरा
तुलसीपुर, १९ असोज ।
भापमा पाकेको तातो ढिक्रि र थारू समुदायको परम्परागत स्वाद बोकेको घोंगी…. । थारू भान्सामा परापूर्वकालदेखि पाक्दै आएका यस्तै मौलिक परिकारहरु अब गाउँघर र पर्वमा मात्र सीमित छैनन् । यी परिकारहरुलाई बजारीकरण गरेर आम्दानीको स्रोत बनाउन थालिएको छ ।
शनिबार मात्रै दाङको घोराहीमा थारु समुदायका परम्परागत परिकारहरु उपलब्ध गराउने उद्देश्यले ‘ढिक्रि घर’ सञ्चालनमा ल्याईएको छ । थारु समुदाय संस्कार, संस्कृति, खानपान,रहनसहनका हिसाबले धनी समुदाय भएपनि पछिल्लो समय लोप हुँदै गएको भन्दै त्यसलाई संरक्षण गर्नकालागि ‘ढिक्री घर’ खोलिएको सञ्चालक रोशन रत्गैयाले बताउनुभयो ।
बजारमा विभिन्न समुदायका सांस्कृतिक खानपान र रेस्टुरेन्टहरूको बाक्लो उपस्थिति भए पनि थारू संस्कृतिको खानपान भने व्यावसायिक रूपमा अझै पछाडि र कमजोर रहेको भन्दै सञ्चालनमा ल्याईएको उहाँको भनाई छ । विशेष गरी चामलको पिठोबाट बनाइने ढिक्रि र तराईको मौलिक तथा लोकप्रिय स्वाद घोंँङी, अनदीको भात, भक्का, संगुरको मासु, हाँसको मासु, लोकल कुखुराको मासु, गंगटालगायत थारु समुदायको पहिचानका रुपमा रहेका सबै परिकार उपलब्ध हुने सञ्चालक जितेन्द्र चौधरीले बताउनुभयो ।“थारु समुदायको पहिचानका रुपमा जुन–जुन खाना छन्, ति सबै खानालाई हामीले उपलब्ध गराउने छौं”,उहाँले भन्नुभयो“यसले हाम्रो खानपानलाई ब्यबसायिक मात्रै होइन्, पहिचान जोगाउन पनि मद्दत पुग्ने अपेक्षा लिएका छौं ।”
ढिक्री थारु समुदायको महत्वपूर्ण परिकार भएको भन्दै यस्ता परिकारहरुलाई ब्यबसायिकरण गर्नु सकारात्मक कुरा रहेको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बताउनुभयो । थारु समुदायका परिकारहरु स्वास्थ्यका हिसाबले पनि उत्तम रहने भएकाले धेरैले मन पराउने गरेको भएपनि बजारीकरण हुन सकेको थिएन । तर, पछिल्लो समय यसलाई ब्यबसायिक बनाउँदा आम्दानीको स्रोत पनि बनेको र स्वरोजगार पनि सिर्जना पनि भएको बताउनुभयो ।
जिल्ला पछिल्लो समय यसरी थारु समुदायको परिकारलाई ब्यबसायिक बनाउन थालिएको छ । केही समय अघि घोराहीमा कविला रिसोर्ट, दंगीशरणमा थारु होमस्टे, तुलसीपुरमा थारु मिन्हीघरलगायतका ब्यबसाय सञ्चालन गरेर थारु समुदायको परिकारलाई बजारीकरण गर्ने अभ्यास थालिएको छ ।
लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले थारु समुदायलाई तालिम दिएर परम्परागत परिकारहरुको बजारीकरण गर्न थालिएको बताउनुभयो । उहाँले दाङसहित बिभिन्न जिल्लाका थारु समुदायलाई तालिम प्रदान गरिएको समेत बताउनुभयो ।



लाइभदाङ । १९ आश्विन २०८३, सोमबार १०:३५ बजे