ओझेलमा सक्राम ब्यारेक

अन्जना बिश्वकर्मा,
तुलसीपुर, २२ जेठ ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ स्थ्ति सक्राम ब्यारेक ओझेलमा परेको छ । शान्ति प्रक्रियापछि भएको सेना समायोजनसँगै खाली भएको सक्राम ब्यारेक संरक्षण र प्रयोग नहुँदा जीर्ण बन्दै गएको हो । यसलाई उचित संरक्षण दिन सकेको छैन । पटक–पटक उक्त ब्यारेकलाई संग्राहलय बनाउन माग उठेपनि त्यो अनुसार काम अघि बढ्न सकेको छैन ।

केही वर्ष अघि सोही स्थानलाई क्रान्ति संग्राहलय बनाउने गरि चर्चा पनि गरिएको थियो । तर, त्यो काम पनि अगाडी बढ्न सकेको छैन । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममा ब्यारेकलाई क्रान्ति संग्रहालय बनाउने कुरा उल्लेख गरेको थियो । तर, त्यो नीतिमा मात्रै सीमित भयो । सरकारी लगानीमा शिविरका लागि निर्माण गरिएका करोडौंका पूर्वाधार जीर्ण भइसकेका छन् ।

परेका बजेटको पनि कार्यान्वयन हुन सकेको छैन । तुलसीपुर उपमहानगरपालिकाले २०७४ मै ४० लाख बजेट हालेको थियो । तर, त्यो बजेन कार्यान्वयन हुन सकेन् । आर्थिक वर्ष २०७८/०७९ मा लुम्बिनी प्रदेश सरकारले २५ लाख बजेट हालेको थियो । त्यो पनि कार्यान्वयन हुन सकेन् । त्यहाँ दुई वटा सामुदायिक वनको विवादले गर्दा पनि परेका बजेटहरु कार्यान्वयनमा समस्या आउने गरेको थियो । क्रान्ति संग्राहलय उपभोक्ता तथर्द उपसमिति संयोजक देवराज वलीका अनुसार संग्राहलय रहेको लामाखोला सामुदायिक वन र नजिकै रहेको रानी सामुदायिक वनबीच सीमा विवाद थियो ।


त्यसले गर्दा पनि आवश्यक प्रक्रिया अगाडी बढाउन समस्या हुँदा आएका बजेट पनि कार्यान्वयनमा समस्या हुने गरेको थियो । तर, अहिले भने त्यो समस्या समाधान भएपछि चालु वर्षमा प्रदेश सरकारबाट आएको १० लाख बजेटबाट काम भइरहेको छ ।“यस अघि वनको विवादले पनि कसले सिफारिश गर्ने भन्ने कुराले विवाद उत्पन्न थियो”, उनले भने “अब भने त्यो समस्या हटेर गएको छ, काम अघि बढिरहेको छ ।” अहिले १० लाखले चिल्ड्रेन पार्क, पिङ, चिप्लेटीलगायतका संरचना निर्माण भइरहेको र काम अन्तिम चरणमा पुगेको अध्यक्ष वलीले बताए । त्यहाँ ५ लाखको लागतमा तुलसीपुर उपमहानगरपालिकाले डीपीआर पनि तयार गरेको छ । क्रान्ति संग्राहलय बनाउने भन्दै बनाएको डीपीआर अनुसार १६ करोड लागत अनुमान गरिएको छ ।

त्यहाँ एक ब्रिगेडका ५ सय ३४ लडाकु बस्ने गरी पूर्वाधार तयार पारिएको थियो । ब्यारेकमा प्रयोग भएका एक क्षेत्रका २÷४ वटा पूर्वाधार मात्रै शिविरको सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीले केही समय अघिसम्म प्रयोग गरेको भए पनि सशस्त्रले पनि ब्यारेक छाडिसकेको छ । तत्कालीन अवस्थामा ब्यारेक निर्माणका लागि राज्यले ४ करोड खर्च गरेको थियो । ब्यारेककै लागि विद्युत्, खानेपानी र सडकमा समेत लगानी गरेको थियो । हाल शिविरको स्वामित्व तुलसीपुर उपमहानगरलाई हस्तान्तरण गरिएको छ । ब्यारेक १० विघा क्षेत्रफलमा बनेको छ । लामाखोला महिला सामुदायिक वन क्षेत्र, नर्सरी र केही खेत ब्यारेकका लागि प्रयोग भएको छ । साभारः अग्रिम साप्ताहिक