तुलसीपुर,
२२ असार /दाङका ८ वटा पालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीका अनुसार तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिकासहित दंगीशरण,राप्ती,राजपुर,गढवा,बंगलाचुली र शान्तिनगरपालिका लाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा भइसकेका छन् ।
साथै अब असार महिनाभित्रै घोराही उपमहानगरपालिका, बबई गाउँपालिकालाई घोषणा गर्ने तयारी रहेको शाहीले बताउनुभयो ।“हामीले जिल्लाका १० पालिका मध्ये ८वटा पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिसकेका छौं”,उहाँले भन्नुभयो“अब बाँकी ३ वटा पालिका मध्ये घोराही र बबईलाई यही महिना भित्र पूर्ण सुनिश्चित घोषणा गरिसक्छौं ।”
१४ प्रकारका रोगका विरुद्धका लड्नका लागि सात प्रकारका खोप बालबालिकालाई दिइन्छ । पालिकाभित्र रहेका सम्पूर्ण बालबालिकाहरुलाई खोप लगाइएपछि पूर्ण खोप सुनिश्चितता घोषणा गरिन्छ । अहिले जिल्लाका बबई गाउँपालिका बाहेक ९ वटा पालिकामा खोप भण्डार केन्द्र सञ्चालनमा रहेको छ ।
तुलसीपुर सुनिश्चित घोषणा
तुलसीपुर उपमहानगरपालिकालाई बुधबार पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलका अनुसार पालिकालाई २०७४ सालमै पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको र अहिले बालिबालिकालाई लगाइने सम्पूर्ण खोपहरुको सुनिश्चितता भएपछि पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।
जिल्ला खोप समन्वय समितिले तथ्यगत विवरणप्रमाणिकरण संगै तुलसीपुर उपमहानगरपालिकालाइ पुर्ण खोप सुनिश्चित तथा दिगोपना पालिकाका रुपमा घोषणा गरेको हो ।
लाइभदाङ । २२ असार २०७९, बुधबार २०:१९ बजे