सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएनन्

काठमाडौं,१७ जेठ । दोस्रो पटक आवेदन दिँदा पनि क्रिकेटर सन्दीप लामिछानेले आईसीसी टी-२० विश्वकपमा सहभागी हुन जान संयुक्त राज्य अमेरिकाको भिसा नपाएको नेपाल क्रिकेट सङ्घले बताएको छ।

एक किशोरीसँग जबरजस्ती करणी गरेको मुद्दामा काठमाण्डू जिल्ला अदालतले दोषी ठहर गरेपछि उनलाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले निलम्बन गरेको थियो। तर केही साताअघि उच्च अदालतले उनलाई सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो।

निलम्बन फुकुवा भएपछि लामिछानेले अमेरिकाको भिसाका लागि आवेदन दिँदा गत साता दूतावासले उनको आवेदन अस्वीकृत गरिदिएको थियो।

त्यसपछि क्यानका अध्यक्ष चतुरबहादुर चन्दले प्रधानमन्त्रीलाई अनुरोध गरेर परराष्ट्र मन्त्रालयमार्फत् उनलाई भिसा दिलाउन पहल गरिने बताएका थिए।

तर अमेरिकी दूतावासले भने भिसासम्बन्धी अभिलेखहरू गोप्य हुने भन्दै लामिछानेले भिसा नपाएको विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेको थियो।

दूतावासको निर्णयपछि क्यानले अब के गर्छ भन्ने अझै स्पष्ट भइसकेको छैन।

लामिछानेले पुनरावेदन गर्दै गर्दा क्यानले मे २५ मा १५-सदस्यीय टोलीको अन्तिम सूची दर्ता गर्नुपर्ने थियो।


तर लेगस्पिनर लामिछानेको भिसा लाग्ने विश्वासमा क्यानले हाल १४ खेलाडीको नाम भएको सूची मात्र बुझाएको बताइएको छ।

क्यानको खेलाडी छनोट समितिका संयोजक दीपेन्द्र चौधरीले भनेका थिए, “आईसीसीलाई अनुरोध गरेर हामीले हाल १४ खेलाडीको नाम मात्र बुझाएका छौँ। आईसीसीले केही दिनका लागि पर्खिन सहमति दिएको छ।”

लामिछानेले भिसा पाएपछि उनको नाम टोलीमा समावेश गरिने र टोलीसँगै अमेरिकामा रहेका एक खेलाडी वैकल्पिक सूचीमा राख्ने क्यानको योजना थियो।

हाल नेपाली टोलीमा स्पिनरहरू ललितनारायण राजवंशी, सागर ढकाल छन् भने तीव्र गतिका बलरमा सोमपाल कामी, करण केसी, कमलसिंह ऐरी, गुलशन झा र प्रतीश जीसी छन्।

त्यस्तै ‘पार्टटाइम’ स्पिनरहरूमा दीपेन्द्र सिंह ऐरी, कप्तान रोहित पौडेल, कुशल मल्ल र कुशल भुर्तेल छन्।