लमही नगरपालिकाद्वारा राजपुरका अग्नि पिडीतलाई आर्थिक सहयोग प्रदान

प्रिया स्मृती गजमेर 
लमही, १४ जेठ ।
लमही नगरपालिकाले राजपुर गाउँपालिकाका अग्नि पिडीतलाई राहत स्वरुप आर्थिक सहयोग गरेको छ । लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगी, विपत व्यवस्थापन शाखाका प्रमुख गायत्री थापा सहितको टोलि गाउँपालिकाको कार्यालयमा पुगेर एक लाख २५ हजार रुपैयाँको चेक गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकी, उपाध्यक्ष धनपति यादव र प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पाण्डेलाई हस्तान्तरण गर्नु भएको हो ।

चेक प्रदान गर्दै लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले विपतमा परेका बेला सहयोग गर्नु मानवीय धर्म भएको बताउनु भयो । कुनै पनि ठाउँका मानिसहरु विपतमा पर्दा टुलुटुलु हेरेर बस्न नहुने भन्दै जति सकिन्छ त्यति सहयोग गर्नु पर्ने उहाँको धारणा छ । आपत विपतका बेलाको सानो सहयोग पनि पिडीतहरुका लागि ठुलो हुने नगर प्रमुख चौधरीको भनाई छ ।


त्यसैगरी उपप्रमुख लक्ष्मी योगीले अग्नि पिडीतहरुको पिडामा मल्हम लगाउने प्रयास गरेको बताउनु भयो । छिमेकी पालिका भएका नाताले पनि सहयोग गर्नु दायित्व भएको भन्दै आगलागीबाट विस्थापित भएका पिडीतहरुको पुनर्वास नहुँदा सम्म सबैले सकेको सहयोग गर्नु पर्ने बताउनु भयो । राजपुर गाउँपालिका–७ हाटबासका अग्नि पिडीतहरुका लागि चारैतिरबाट आएको राहत पिडीत समक्ष पुगे नपुगेको बारेमा ध्यान दिन र एकद्वार प्रणालीबाट राहत वितरण गर्न गाउँपालिकालाई आग्रह गर्नु भएको छ ।

एक लाख २५ हजार रुपैयाँको चेक ग्रहण गर्दै गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकी र गाउँपालिका उपाध्यक्ष धनपति यादवले धन्यवाद ज्ञापन गर्नु भएको थियो । विपतका बेला लमही नगरपालिकाले गरेको सहयोग अत्यन्तै महत्वपूर्ण भएको बताउनु भएको छ । हाटबासका अग्नि पिडीतकालागि गाउँपालिका अहोरात्र खटिरहेको बताउनु भयो ।