
सुर्खेत, ३० कात्तिक ।
नेकपा (एमाले) की नेतृ तथा पूर्वसांसद शान्ता चौधरीले सुर्खेतमा सञ्चालनमा ल्याएको ‘शान्ताको अचार’ को वीरेन्द्रनगर शाखामा आइतबार बिहान आगलागी भएको छ ।
शुक्रबार मात्र उद्घाटन भएको यस शाखामा आइतबार बिहान करिब ४ः२० बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।
सूचना अधिकारी बुढथापाका अनुसार वीरेन्द्रनगर नगरपालिका–६, सनिहल लाइनस्थित दुई तले सुपर मार्केटभित्र रहेका दुई वटा सटर पूर्ण रूपमा नष्ट भएका छन् । सुपर मार्केटको सटर नम्बर १ मा अचानक आगो लागेर अन्य सटरमा फैलिएको थियो ।
यता ‘शान्ताको अचार’ की सञ्चालक चौधरीले आफूले शाखा विस्तार गरिसकेपछि आफ्नो पसलमा षड्यन्त्रपूर्वक तरिकाले आगो लगाइएको बताएकी छन् । “मैले ‘शान्ताको अचार’ को वीरेन्द्रनगर शाखा शुक्रबार मात्र विस्तार गरेकी थिएँ । ममाथि रिस गर्नेहरूले यस्तो घटना घटाएको हुन सक्छ, चौधरीले भनिन्, “यसको लागि निष्पक्ष छानबिनको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई मैले आग्रह गरिसकेकी छु ।”
आगलागीका कारण आफ्नो १५ लाख बराबरको क्षति भएको उनले बताएकी छन् । तर, प्रहरीले भने मुचुल्का उठेपछि मात्र वास्तविक क्षति थाहा हुने जनाएको छ ।
आगो नियन्त्रणका लागि प्रहरी निरीक्षक जितबहादुर खड्काको कमान्डमा प्रहरी टोली तथा दमकल खटिएको थियो । करीब ५ः०० बजे प्रहरी र दमकलको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानाएको छ ।
आगलागीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ भने आगलागीको कारण सम्बन्धमा प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ ।



लाइभदाङ । १ मंसिर २०८२, आईतवार १८:३४ बजे