चाईनिज कुखुरा भन्दै दाङका सोझा किसानमा ठगी, गरीबको लाखौं रकम डुब्यो

दीपक बोहरा
दाङ, १० जेठ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ घोरनेटीकी सीता केसी गएको माघमा विधुवा भएको दुई महिना भएको थियो । त्यही बेला सुर्खेत ठेगाना भएको जनता बहुउद्देश्यीय एग्रो फरेष्टि प्रालिको नाममा निदोष सिंह, नवराज सुनारलगायतका ब्यक्ती घरमै गए । एकल महिलाहरुलाई सहुलियत दिने भन्दै ‘चाईनिज कुखुरा’का चल्ला पालन गर्न गर्न सुझाब दिए । एकल महिलाहरुलाई चल्लाको खोर बनाउन छुट दिनुकासाथै बोयर बोका र बाख्रा पनि निःशुल्क उपलब्ध गराउने भन्दै सुरुमा चल्ला पालन गर्न सुझाए । त्यो कुरामा केसी प्रभावित भइँन र सुरुमा ३० वटा कुखुरा पालन गर्ने योजना बनाईन् । तर, उनीहरुले ७० वटा कुखुरा पाल्न भनेपछि उनले प्रालिकै ब्यक्तीबाट २१ हजारमा ति कुखुरा खरिद गरिन् ।

चाइनिज कुखुरा भएकाले प्रति चल्ला तीन सय रुपैँया पर्ने भन्दै सोही अनुरुप खरिद गरेकी हुन् । ति मध्ये अहिले ४० वटा मात्रै बाँकी छन् । अहिलेसम्म दानामा मात्रै ७० हजार भन्दा बढि खर्च भइसकेको छ ।

उनीहरुले चल्लामा लाग्ने औषधी पनि आफैले किनिदिने समेत आस्वासन दिए, भने पालेका सबै कुखुरा आफूले नै खरिद गरिदिने समेत भनेका थिए । त्यो कुरामा उनले झनै विश्वास गरिन् । उनीहरु यसरी गाउँ–गाउँमा कुखुरा पालन गर्न सबैलाई उक्साए र आफूले नै चल्ला बिक्री गरे । त्यसको तीन महिनापछि कुखुरा ३÷४ किलो भए । बजारमा विक्री गर्न मिल्ने खालका कुखुरा भएपनि आफैले ७ सय रुपैँयादेखि ९ सय रुपैँयासम्ममा खरिद गर्ने आस्वासन देखाएका उनीहरु त्यसपछि भने एकाएक सम्पर्क विहीन बने । अनि मात्रै केसीले आफू महसुश गरिन ।

त्यस्तै तुलसीपुर ४ खाद्रेका रुद्र प्रसाद खनालले पनि सोही कम्पनीका ब्यक्तीहरुले ल्याएको स्किममा प्रभावित भए र ५० वटा कुखुरा तीन सयका दरले खरिद गरे । उनी ‘घ’ बर्गको अपाङ्ग पनि हुन् । उनलाई पनि बोयर बोका र बाख्रा निःशुल्क दिने आस्वासन दिएका थिए । त्यस्तै कुखुराको खोर र आबश्यक औषधी पनि दिने दिने आस्वासन पाएका थिए ।“अपाङ्ग भएकाले कुखुराको खोर बनाएको पैसा पनि दिने, कुखुरालाई आबश्यक पर्ने औषधी पनि दिने आस्वासन दिनुभयो”,उनले भने“त्यसपछि मैले पनि उहाँहरुसंगै तीन सय रुपैँयाका दरले चल्ला खरिद गरेँ र पालन सुरु गरेँ ।”

कम्पनी आफैले खरिद गरिदिने उनको आशा थियो । तर, उनीहरु सम्पर्क विहीन भएपछि लगानी डुब्ने उनको डर छ । बजारमा विक्री गर्न खोज्दा पनि दुई÷तीन सय भन्दा बढिमा लैजाने अबस्था छैन । उनले अहिलेसम्म ५० हजार भन्दा बढि लगानी गरिसकेका छन् ।


त्यस्तै तुलसीपुर ४ कै भ्यूडहरका सालिकराम डाँगीले पनि एकसय पिस चल्ला लिए । अहिलेसम्म ३० वटा चल्ला मरिसकेका छन् । अहिले ७० वटा कुखुरा जीवित रहेको उनले बताए । बीच–बीचमा आफै चल्लालाई औषधी पनि गरे । यद्यपी प्रालिले सुरु–सुरुमा १/२ बोतल औषधी पनि दियो । तर, बीचमा औषधी आफैले खरिद गर्न भन्यो र त्यसको बिल अनुसार आफूले भुक्तानी गर्ने उनीहरुको भनाई थियो । तर, उनीहरुले त्यो बिलको पनि भुक्तानी गरेनन् । अहिले उनले पालन गरेका चल्ला ४ देखि ५ किलोसम्म भइसकेका छन् ।

चल्ला ठूला भइसकेपछि उनीहरुले विक्रीकालागि ति ब्यक्तीलाई सम्पर्क गर्न खोजे । जब उनीहरु सम्पर्क विहीन बने, त्यसपछि किसानहरुले आफूलाई ठगिएको महशुस गरे । त्यसपछि उनीहरु प्रहरी कार्यालयमा गएर निवेदन दिए । निवेदन वैशाख २६ गते इलाका प्रहरी कार्यालय तुलसीपुरले हाँजिर गराएर जेठ ८ गतेसम्म किसानहरुले पालन गरेका कुखुरा खरिद गरेर लैजाने सहमति गरे । तर, उनी अहिलेसम्म पनि सम्पर्कमा आएका छैनन् । यसरी सोही वडामा मात्रै करिब ४० किसानले उनीहरुसंग चल्ला खरिद गरेर पालन गरेका छन् । सोही ठाउँकी बालिका थापालाई उनीहरुले केही समय कर्मचारीका रुपमा राखे । उनकै घरमा भाडा लिएर पनि बसे । उनीहरु एक महिना गाउँमै बसे । एक महिना पछि भने उनीहरु सम्पर्क विहीन बने । त्यसपछि उनीहरु सम्पर्क विहीन बनेपछि कर्मचारीका रुपमा कार्यरत बालिकालाई पनि तलब दिन छोडे ।“ एक महिनासम्म त मलाई १० हजार तलब पनि दिनुभयो”,उनले भनिन्“दोस्रो महिनादेखि तलब पनि दिन छोड्नु भयो, त्यसपछि मैले काम पनि छोडे ।”

किसानहरुलाई सहुलियत दिने नाममा यो प्रालि वडा कार्यालयमा पनि पुगेको थियो । तर, वडाध्यक्ष तुलसी थापाले यसको बैधानिकता, यसले विगतमा गरेका कामहरुको प्रगति विवरण खोजेपछि उनीहरु हच्किएका थिए । त्यसपछि उनीहरु वडा कार्यालयमा एक पटक पनि नआएको वडाध्यक्ष थापाले बताए ।“ यो प्रस्ताब ल्याएर वडामा पुगेका थिए, मैले यसको बैधानिकता, विगतमा गरेका गतिबिधिका कागजात माग गरेको थिएँ”,उनले भने“त्यसपछि उहाँहरु वडामा एक पटक पनि आउनु भएन ।” वडामा नआएपनि उनीहरु सिधै किसानसम्म पुगेछन् । त्यसपछि एकैपटक किसानहरु ठगिएपछि मात्रै आफूले यो कुरा थाहा पाएको वडाध्यक्ष थापाको भनाई छ । उनले यस विषयमा आफूले कडा भन्दा कडा कारवाहीकालागि सम्बन्धित निकायमा जानकारी गराएको समेत बताए । त्यस्तै सोही वडाबाट प्रतिनिधित्व गर्ने कार्यपालिका सदस्य लक्ष्मण विश्वकर्माले पनि यो विषयमा आफू इलाका प्रहरी कार्यालयमा पटक–पटक पुगेर ध्यानाकर्षण गराएको समेत बताए ।

 इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लका अनुसार यस अघि पीडिक र पीडितलाई ल्याएर पालन गरिएका कुखुराहरुलाई सम्बन्धि प्रालिले नै लैजाने गरि सहमति गरेको भएपनि त्यो कार्यान्वन नभएको भनि ठाडो निवेदन परेको उनले बताए । यस विषयमा प्रालि र किसानहरुबीच लिखित सम्झौता नभएकाले कानुनी प्रक्रिया अगाडी बढाउन नसकिएको बताएको छ ।त्यसका आधारमा पीडितहरुलाई न्याय दिने तर्फ लागिरहेको उनको भनाई छ ।

उनीहरु तुलसीपुर ४ मा मात्रै नभई अन्य तुलसीपुर १९ र १३ मा पनि पुगेका थिए । तर, तुलसीपुर १३ मा गएको बेला आफूहरुले उनीहरुलाई यो कार्यक्रम लागु गर्न नदिएको वडाध्यक्ष मोहन पौडेलले बताए ।“वडामा गएर १५ हजार रुपैँया केही ब्यक्तीबाट उठाई पनि सकेछन्”,उनले भने“त्यसपछि मैले प्रहरीलाई खबर गरेर त्यो पैसा पनि फिर्ता गर्न लगाएँ, र गाउँमा यस्ता कार्यक्रम नल्याउन पनि भनेँ ।” ति चल्लाको मूल्य बाहिर बजारमा ५० देेखि ९० रुपैँयासम्म पर्ने गरेको भएपनि उनीहरुले तीनसय रुपैँयामा बेचेका थिए ।
यस विषयमा सिंहको फोन नम्बर ९८४४८०८४४६ मा सम्पर्क गर्न खोज्दा अफ छ ।