
आलोक भावुक
गढवा, १८ मंसिर । अपाङ्गता भएका व्यक्तिको ३४औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा गढवा गाउँपालिकामा आयोजित मनोस्वास्थ्य तथा आत्मविश्वास अभिवृद्धि कार्यक्रम आज एक विशेष समारोहका बीच सम्पन्न भएको छ।
कार्यक्रम गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा गढवाका विभिन्न वडाबाट आएका अपाङ्गता भएका व्यक्तिहरुको सक्रिय सहभागिता थियो।
कार्यक्रमका प्रशिक्षक तथा मनोपरामर्शदाता आकार ज्ञवालीले सहभागीहरूलाई मनोस्वास्थ्य, तनाव व्यवस्थापन, आत्मविश्वास अभिवृद्धि तथा सरल जीवनशैलीका आधारहरूको सम्बन्धमा विस्तृत जानकारी प्रदान गर्नुभएको थियो। उहाँले अपाङ्गता भएका व्यक्तिहरूले दैनिक जीवनमा भोग्नुपर्ने चुनौती, सामाजिक दबाब, भौतिक पहुँचको अभाव लगायतका समस्याबारे चर्चा गर्दै आत्मविश्वास, सकारात्मक सोच र जीवन कौशलले जीवन सहज र सफल बन्ने बताउनुभयो।
प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले आफ्नो भनाईमा अपाङ्गता भएका व्यक्तिहरूप्रति स्थानीय सरकार सदैव संवेदनशील रहेको उल्लेख गर्दै भन्नुभयो।
“अपाङ्गता कुनै कमजोरी होइन, जीवन जिउने फरक तरिका मात्र हो। गढवा गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको क्षमता विकास, पहुँचयुक्त सेवा, सामाजिक सम्मान तथा अधिकार सुनिश्चिततामा निरन्तर काम गरिरहेको छ।”
अध्यक्ष पोख्रेलले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधारका लागि स्वास्थ्य सेवा, रोजगार, सामाजिक सुरक्षा भत्ता, पहुँचयुक्त पूर्वाधार, तालिम र अवसर विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले थप भन्नुभयो—
“समाज सबैको लागि हो। अपाङ्गता भएकाहरूलाई अझै समावेशी र पहुँचयुक्त वातावरण बनाउनु नै हाम्रो प्राथमिकता हो।”
कार्यक्रममा सहभागीहरुले आत्मविश्वास बढाउने व्यावहारिक अभ्यास, समूहगत अन्तरक्रिया तथा मनोस्वास्थ्यसम्बन्धी परामर्श समेत प्राप्त गरेका थिए।
गढवा गाउँपालिकाद्वारा आयोजित सो कार्यक्रमलाई सहभागीहरूले उपयुक्त, प्रभावकारी र प्रेरणादायी भएको मूल्यांकन गरेका छन्।
कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नुभएको थियो।



लाइभदाङ । १९ मंसिर २०८२, बिहीबार ०७:५३ बजे