
तुलबहादुर कवँर मगर
मसुरिया, १७ मंसिर ।
राप्ती गाउँपालिकाको मंगलबार बसेको कार्यपालिका बैठकले विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ। गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टको अध्यक्षतामा बसेको बैठकले अघिल्लो बैठकको समीक्षा गर्दै आगामी कार्यक्रम र योजना तय गरेको हो।
बैठकले राप्ती नदी किनारबाट मंसिर ३ गते जफत गरिएको ढुङ्गा लिलाम गर्ने, फोहोर व्यवस्थापन केन्द्रमा देखिएका समस्याको दिगो समाधानका लागि समिति गठन गर्ने, खानेपानी तथा सरसफाई उपभोक्ता समिति दर्ता तथा नवीकरण व्यवस्थापन कार्यविधि २०८२ स्वीकृत गर्ने, कमैया कमलहरी आयवृद्धि तथा सीप विकास कार्यक्रम लक्षित वर्ग लाभान्वित हुने गरी सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले जानकारी दिनुभयो ।
त्यस्तै,गाउँपालिका क्षेत्रमा कम्तीमा १० जनाको समूहमा सामाजिक क्रियाकलापमा संलग्न युवाहरुलाई प्रोत्साहन गर्न प्रत्येक महिना एक समूहलाई ‘युथ हिरो अवार्ड’ मार्फत सम्मान गर्ने, लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आगामी २४ गते महिला दौड प्रतियोगिता आयोजना गर्ने र हिउँदे अधिवेशनको प्रथम बैठक आगामी पौष १३ गते बिहान ११ बजे बस्ने निर्णय पनि बैठकले गरेको छ।
प्रमुख प्रशासकीय अधिकृत पाठकका अनुसार बैठकमा अन्य विविध विषयमा पनि छलफल भएको थियो। बैठकले लिएका यी निर्णयले गाउँपालिकाको विकास, सरसफाइ व्यवस्थापन र स्थानीय जनताको जीवनस्तर सुधारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।



लाइभदाङ । १८ मंसिर २०८२, बुधबार २१:५२ बजे