जहाज ‘ग्राउन्डेड’ हुँदा टरिगाउँमा हप्तामा एउटा मात्रै उडान

तुलसीपुर, ३ असार  ।  दाङको तुलसीपुर स्थित टरिगाउँ विमानस्थलमा यो हप्ता एउटा मात्रै उडान हुने भएको छ । नेपाल एयरलाईन्सको एउटा जहाज ग्राउन्डेड(विग्रिदा) यो हप्ता विहीबार मात्रै उडान हुने भएको हो । यस अघि १९ सिटे जहाज दुई वटा भएपनि एउटा विग्रिदा हाल एउटा मात्रै सञ्चालित रहेको नेपाल बायु सेवा निगम तुलसीपुरका प्रमुख बलबहादुर सुनारले बताए ।

“एउटा जहाज ग्राउन्डेड भएको छ”,उहनले भने “इन्जिनमा समस्या आएकाले अहिले बनाउने कार्य भइरहेको छ, त्यसैले यो हप्ता विहीबार मात्रै आउछ ।” यस अघि बुधबार र शुक्रबार बाहेक हप्तामा पाँच दिन उडान भर्दै आएको थियो । एयरलाइन्ससंग १९ सिटे ३ वटा जहाज छन् ।

ति मध्ये एउटा जहाज यस अघि नै विग्रिएको थियो भने, हालै मात्रै एउटा विग्रिएको छ । अर्को जहाज मर्मत भएर आएपछि मात्रै पुनः उडानको नयाँ तालिका सार्वजनिक गर्ने प्रमुख सुनारले बताए ।


टरिगाउँमा नियमित हवाई सेवा नहुँदा यात्रुहरु नेपालगञ्ज वा भैरहवा जानु पर्ने अबस्था छ । विमानस्थलको धावनमार्ग पनि सानो हुँदा ठूला जहाज बस्न सकेको छैनन् । हाल विमानस्थलको धावनमार्गको लम्बाई ७५० मिटर मात्रै रहेको छ ।

उक्त धावनमार्ग विस्तार गर्नुपर्ने आवाज पटक–पटक उठ्ने गरेको छ । विमानस्थल २०११ सालमा स्थापना भएको हो । हाल दाङ–काठमाडौं हवाई भाडा ८ हजार ९ सय ७५ रहेको छ ।