दुना–टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

तुलबहादुर कँवर मगर
भालुबाङ,१९ मंसिर।
दाङको राप्ती गाउँपालिका–६ पत्थरगढवामा तीन वर्षअघि सामूहिकरूपमा शुरु गरिएको लक्ष्मी दुना–टपरी उद्योग अहिले स्थानीय महिलाहरूको आम्दानीको स्रोत बनेको छ ।

राप्ती गाउँपालिका र वडा कार्यालयले आत्मनिर्भरता अभिवृद्धिका लागि आवश्यक तालिम र उपकरण प्रदान गरेपछि उनीहरू सामूहिकरूपमा उद्योग सञ्चालन गरी स्वरोजगार बन्न थालेका हुन् । वातावरणमैत्री उत्पादनमार्फत् आत्मनिर्भर बन्न सफल उनीहरू घरखर्च सञ्चालनदेखि बजार विस्तारसम्म सशक्तरूपले सक्रिय देखिएका छन् । सालका पात संकलन गरी उत्पादन हुने दुना–टपरी बिक्रीबाट महिलाहरूले आम्दानी थालेका हुन् । यसले विपन्न परिवारको जीवनस्तर सुधारसँगै प्लास्टिकजन्य सामग्रीको प्रयोग घटाउन सहयोग पुगेको स्थानीयवासीहरू बताउँछन् ।

१० जना महिलाहरुले मिलेर सञ्चालन गरेको उद्योग दैनिक रूपमा उत्पादनमा व्यस्त छ । ‘एक दिन जंगलबाट संकलन गर्ने पातले चार–पाँच दिनसम्म उत्पादन गर्न पुग्छ’– समूहकी अध्यक्ष सरस्वती चौधरीले भन्नुभयो– ‘यसले महिलाहरूलाई आफ्नै मेहनतमा घर खर्च चलाउन सजिलो भएको छ ।’ उद्योगमा उत्पादन हुने दुना साइजअनुसार प्रतिपिस एक रुपैयाँ ५० पैसादेखि तीन रुपैयाँ ५० पैसा र टपरी छ रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ । गत कार्तिक महिनामा मात्रै २२ हजार सात सय रुपैयाँ बराबरको बिक्री भएको समूहले जनाएको छ । गत वर्ष उद्योगले करिब एक लाख १० हजार रुपैयाँ आम्दानी गर्न सफल भएको अध्यक्ष चौधरीले बताउनुभयो ।


यद्यपि, उत्पादनका लागि उपलब्ध एक मात्र मेसिनले बढ्दो माग पूरा गर्न नसकिरहेको महिलाहरूको गुनासो छ । ‘माग धेरै छ, तर एउटा मेसिन दिनभर चलाएर पनि पुग्दैन’– अध्यक्ष चौधरीले भन्नुभयो– ‘प्लास्टिकका दुना–टपरीसँग प्रतिस्पर्धा गर्नु पनि चुनौती भएको छ ।’ पूजाआजा, विवाह, ब्रतबन्धलगायत धार्मिक तथा सामाजिक कार्यक्रमका लागि सालका पातबाट बनेका सामग्री ‘शुद्ध’ मानिने भएकाले दुना–टपरीको माग निरन्तर बढ्दो छ । यहाँ उत्पादन हुने सामग्री स्थानीय बजारसँगै बाँके र बर्दियासम्म आपूर्ति हुँदै आएको समूहकी सदस्य गीता चौधरीले जानकारी दिनुभयो ।

राप्ती गाउँपालिका उद्यम विकास शाखा प्रमुख विनिता चौधरीले गाउँपालिकाअन्तर्गत रहेका उद्योगका प्रगति, चुनौती तथा आवश्यकताबारे पालिकाले समयमा–समयमा उद्योगमै पुगेर प्रत्यक्ष संवाद गर्दै आएको बताउनुभयो । उनीहरू जस्तै गाउँपालिकाको सहयोगमा वडा नं. ३ मसुरिया र वडा नं. ८ बिजौरीका महिलाहरूले पनि सामूहिक रूपमा दुना–टपरी उद्योग सञ्चालन गर्दै आएको शाखा प्रमुख चौधरीले बताउनुभयो । सामाजिक सञ्जाल फेसबुक र टिकटकमार्फत् बजार विस्तार भइरहेको समूहहरूले बताएका छन् । गाउँमा केही हुँदैन भन्दै विदेशिने युवाहरूका लागि यस्ता प्रयासहरूले स्वदेशमै सीप र उद्यमशीलताबाट राम्रो आयआर्जन गर्न सकिन्छ भन्ने उदाहरण स्थापित गरेको राप्ती गाउँपालिकाले जनाएको छ ।