किशोरीहरुका सवालमा सबै गम्भीर हुन जरुरी छः उपप्रमुख योगी

प्रिया स्मृती गजमेर/
लमही,९ जेठ ।
लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले किशोरीहरुका सवालमा सबै गम्भीर हुनु पर्ने बताउनु भयो । देश विकास र निर्माणमा किशोर किशोरीहरुको पनि भूमिका महत्त्वपूर्ण रहने भएको हुँदा किशोर किशोरीहरुको वृद्धी विकासमा लगानी गर्नु पर्ने बताउनु भयो ।

साथै उहाँले विद्यालयहरुमा गठन भएका किशोरीमैत्री बाल क्लवहरुले गरेका कामहरु प्रसंशा गर्न लायक रहेको बताउनु भयो । शिक्षासंगै संस्कार र अनुशासन सिकेको, घरपरिवार, विद्यालय र समाजप्रती जिम्मेवार बनेको भन्दै उपप्रमुख योगीले उनिहरुको प्रसंशा गर्नु भएको हो ।

किशोरीमैत्री बाल क्लवका पदाधिकारीहरुको क्षमता विकास तथा व्यवस्थापनका लागि दुई दिने कार्यशालालाई सम्बोधन गर्दै समय परिवर्तनशिल रहेको भन्दै नगर उपप्रमुख योगीले आधुनिक समयमा रहेर अगाडी बढ्नु पर्ने बताउनु भयो ।

किशोर अवस्था भनेको महत्वपूर्ण समय भएकोले चनाखो हुन पनि सबैलाई आग्रह गर्नु भयो । पछिल्लो समय बालबालिका कुलतको दलदलमा फस्दै गएको कुरामा जोड दिदै आफू पनि बच्ने र अन्य साथिहरुलाई पनि कुलतबाट टाढा राख्ने भूमिका खेल्नु पर्ने बताउनु भयो ।


त्यसैगरी लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले आफुले सिकेका कुरालाई विद्यालय र घरमा लागू गर्न सहभागीलाई आग्रह गर्नु भयो । उहाँले आगामी दिनमा किशोर किशोरीहरुका लागी विशेष कार्यक्रमनै लागू गर्ने कुरामा जोड दिनु भयो ।

यो कार्यक्रम आज बुधबार र भोलि बिहीवार गरि दुई दिनसम्म चल्ने छ । लमहीका सत्रवटा सामुदायिक विद्यालयका दशवटा किशोरीमैत्री बालक्लवका ५/५ जना गरि ५० जना छात्राहरुलाई प्रशिक्षण दिइने भएको लमही नगरपालिकाका प्राविधिक सहायक अम्विका शर्माले जानकारी दिनु भयो ।

दुईदिनसम्म संचालन हुने कार्यशालाको मुख्य उदेश्यका बारेमा शिक्षाधिकृत भवानी गिरीले प्रकाश पार्नु भएको थियो । लमही नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी योगीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण शिक्षा युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक अम्विका शर्माले गर्नु भएको थियो ।