तुलसीपुर खानेपानीको १४ गते पार्सद भेला हुने, भेलाले निर्वाचनको मिति तोक्ने

तुलसीपुर
१ मंसिर / लामो समय देखि हुन नसकेको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन हुने पक्का भएको छ । उच्च अदालत तुलसीपुरले पत्र प्राप्त भएको एक महिना भित्रमा आर्थिक प्रतिवेदन पारीत गरि खानेपानीको निर्वाचन गर्न निर्देशन गरेको छ । सोही अनुसार संस्थाको बुधबार बसेको बैठकले यही मंसिर १४ गते पार्सद भेला गर्ने निर्णय गरेको छ । भेलाले आर्थिक प्रतिवेदन पारीत गर्नेछ ।
सोही भेलाले नै निर्वाचनको मिति तोक्ने संस्थाका कोषाध्यक्ष सिताराम शर्माले बताए । कात्तिक २५ गते संस्थामा पत्र आईपुगेकाले मंसिर २५ गते भित्रै निर्वाचन गर्नुपर्ने उनको भनाई छ ।

साथै निर्वाचनमा भाग लिनकालागि गएको आर्थिक बर्षको महसुल बुझाउन अनुरोध गरिएको छ । यदि कात्तिक १२ गतेसम्म खानेपानीको महसुल नबुझाएमा मताधिकार हुनेछैन । हाल खानेपानीका ८ हजार २ सय धाराहरु छन् । संस्थाका ७१ जना पार्सदमध्ये ४१ जनाले बहिस्कार गरेपछि अदालतमा पूर्वकर्मचारी यमुना शाहले रिट दायर गरेकी थिइन् ।

शाहले गएको फागुनमा बन्दसत्र नगरेर निर्वाचन गराउन लागेको भन्दै रिट दायर गरेकी थिइन । त्यसपछि संस्थाका निर्वाचन प्रभाबित भएको थियो ।


समयमा निर्वाचन नभएको र अदालत तथा अख्तियारसम्म मुद्दा परेको भन्दै संस्थाका अध्यक्ष खेमराज वलीले नैतिकताका आधारमा पदबाट राजीनामा दिएको पत्रकार सम्मेलन गरि जानकारी गराएका थिए । त्यसपछि कर्मचारीलाई तलब खुवाउनेदेखि अन्य काम गर्नकालागि जिल्ला प्रशासन कार्यालयले कोषाध्यक्ष र लेखा प्रमुखलाई जिम्मेवारी तोकेको थियो ।

रिट निवेदन परेपछि गएको फागुन २२ गते निर्वाचन तोकिएको निर्वाचन कार्य रोक्न अदालतले आदेश गरेको थियो ।