दाङ,२३ भदौ । दाङको चखौरामा रहेको थारु सङ्ग्रहालयको अवलोकन गरेर फर्किदै गरेको बस बाँकेमा दुर्घना हुँदा ७ जनाको मृत्यु भएको छ । कोहलपुरको शमशेरगञ्जमा शुक्रबार राति ९ बजे भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताउनुभयो ।
दुर्घटनामा ज्यान गुमाउनेहरुमा बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ का ५० वर्षीय काशिराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, ४० वर्षीया जयन्ती थारु, ७० वर्षीय चानुराम थारु रहेका छन् ।
यसैगरी ठाकुरबाबा नगरपालिका–८ का बस चालक ४५ वर्षीय जोग बहादुर चन्द र नाम खुल्न बाँकी बसन्त भनिने सहचालक ३५ वर्षीय पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते २९ जनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।
बसमा ४१ जना सवार थिए । बस दुर्घटनामा करिब ३० जना घाइते भएका छन् । घाइतेहरुको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
लाइभदाङ । २३ भाद्र २०८०, शनिबार ०७:४६ बजे