लुम्बिनीमा जसपाका दुई साँसद राईको नेतृत्वको पार्टीमा

दीपक बोहरा
दाङ,३० वैशाख ।
जनता समाजदावी पार्टी(जसपा) पार्टी फूटसंगै लुम्बिनी प्रदेशमा संसदीय दलका नेता भण्डारीलाल अहिरसहित दुई जना सांसद अशोक राई तर्फ खुलेका छन् ।

बाँके क्षेत्र नं २ को १ बाट निर्वाचिन आदेश कुमार अग्रवाल र २ बाट निर्वाचित भण्डारीलाल अहीरले प्रदेश निर्वाचन कार्यालयमा गएर राई नेतृत्वको पार्टी रोजेको जानकारी गराएका हुन् । उनीहरु दुबै जना आईतबार निर्वाचन आयोगमा गएर राई नेतृत्वको जनता समाजवादी रोजेका हुन् । लुम्बिनीमा जसपाका तीन जना सांसद थिए । समानुपातिक सांसद अम्बिका काफ्ले भने ओपेन्द्र यादव नेतृत्वकै पार्टीमा रहेका छन् ।

यो संगै यादव नेतृत्वको जसपाले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने जनाएको छ । केन्द्रको निर्णय अनुसार काफ्लेले समर्थन फिर्ता लिने गरि तयारी रहेको यादव निकट जसपा लुम्बिनी प्रदेशका अध्यक्ष अशोक यादवले बताए । “दुई जना सांसद नयाँ बनेको पार्टी रोज्नु भयो”,उनले भने “संसदमा त्यो जानकारी भएलगतै हामी सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं ।”


एक जना सांसद मात्रै रहने यादवको जसपाले समर्थन फिर्ता लिएपनि सरकारलाई भने असर नगर्ने देखिएको छ । हाल प्रदेश सकारलाई एमालेका २९, माओवादी केन्द्रका १०(सभामुख बाहेक),नागरिक उन्मुक्ति पार्टीका ४, एकीकृत समाजवादीका एक र एकजना स्वतन्त्र सांसदले समर्थन गरेका छन्, भने जसपाका संसदीय दलका नेता अहीर कृषि मन्त्री नै छन् ।

त्यसो हुँदा लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महरासंग ४७ सांसद को समर्थन हुन्छ । ८७ सांसद रहेको लुम्बिनीमा बहुमतकालागि ४४ सांसद चाहिन्छ ।