उपकुलपति कप फुटसलको उपाधि ब्लु मिमोसा र इन्भिन्सिबललाई

घोराही, ०१ भदौ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक, कर्मचारी तथा विद्यार्थीबीच आपसी सद्भाव, सहकार्य, अनुशासन र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले शनिबार र आइतबार गरेर दुई दिन आयोजना गरिएको ‘उपकुलपति कप फुटसल प्रतियोगिता–२०८३’ उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। प्रतिष्ठानले आयोजना गरेको दुईदिने प्रतियोगितामा प्रतिष्ठानमा कार्यरत विभिन्न शाखा, विभाग तथा एमबीबीएस तहका विद्यार्थी सम्मिलित टोलीहरूको सहभागिता रहेको थियो। प्रतियोगिताका क्रममा सहभागी टोलीहरूले उत्कृष्ट खेल कौशल प्रदर्शन गर्दै दर्शकलाई रोमाञ्चक फुटसलको अनुभव दिलाएका थिए।

प्रतियोगिताको पुरुषतर्फ प्रशासन समूहको टिम ब्लु मिमोसा (Blue Mimosa) ले उपाधि हात पारेको छ। समूह चरणदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै फाइनल प्रवेश गरेको ब्लु मिमोसाले एमबीबीएस प्रथम सेमेस्टरको कार्डियाक स्ट्राइक्स (Cardiac Strikes) लाई फाइनल खेलमा ४–२ गोल अन्तरले पराजित गर्दै प्रतिष्ठानको पहिलो उपकुलपति कप फुटसल प्रतियोगिताको पुरुषतर्फको उपाधि जित्न सफल भएको हो।

फाइनल खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो। दुवै टोलीले सुरुवातदेखि नै आक्रामक तथा उत्कृष्ट खेल प्रदर्शन गरे पनि ब्लु मिमोसाले अवसरको सदुपयोग गर्दै चार गोल गर्न सफल भयो। कार्डियाक स्ट्राइक्सले दुई गोल फर्काए पनि खेलको अन्त्यसम्म अग्रता कायम राख्न नसक्दा उपविजेतामै सीमित भएको हो। त्यस्तै, महिलातर्फ एमबीबीएस प्रथम सेमेस्टरको टिम इन्भिन्सिबल (Team Invincible) ले उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि जितेको छ। प्रतियोगितामा इन्भिन्सिबलले अनुशासित र प्रभावकारी खेल प्रस्तुत गर्दै महिला विधातर्फको उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो।

पुरुषतर्फको विजेता टिम ब्लु मिमोसा मा प्रतिष्ठानका इमरजेन्सी, ल्याब तथा फार्मेसी सेवामा कार्यरत कर्मचारीहरूको सहभागिता रहेको थियो। शाखा अधिकृत राजन घिमिरे कप्तान, फार्मेसी अधिकृत अशोक सुवेदी व्यवस्थापक र लेखा अधिकृत रोशन आचार्य प्रशिक्षक रहेको उक्त टोलीले प्रतियोगिताभर निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै अन्ततः उपाधि जितेको हो।


प्रतियोगिताको समापनका अवसरमा विजेता तथा उपविजेता टोलीलाई ट्रफी, प्रमाणपत्रलगायतका पुरस्कार प्रदान गरिएको थियो। विजेता समूहलाई खसीसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो। पुरस्कार प्रतिष्ठानका उपकुलपति प्राडा अजयकुमार मिश्र र निमित्त अस्पताल निर्देशक तथा सहप्राध्यापक डा। सुरेश रसाइली, शिक्षक बिद्यार्थी वेल फेयर कमिटिका संयोजक डा। सुलभ रेग्मी, नर्सिङ क्याम्पस प्रमुख प्रा। अम्बिका पौडेल, शर्मिला शर्मा, पुजा शर्मा लगायतले प्रदान गर्नुभएको थियो।

समापन कार्यक्रममा बोल्दै प्रतिष्ठानका उपकुलपति प्राडा अजयकुमार मिश्रले खेलकुदले शारीरिक स्वास्थ्यसँगै कर्मचारी, चिकित्सक तथा विद्यार्थीबीचको सम्बन्ध थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको थियो। व्यस्त स्वास्थ्य सेवा तथा शैक्षिक गतिविधिबीच आयोजना गरिएको यस्ता खेलकुद कार्यक्रमले आपसी परिचय, सहकार्य, टिम भावना र सकारात्मक प्रतिस्पर्धाको वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको उहाँले बताउनु भयो ।

प्रतिष्ठानमा पहिलोपटक आयोजना गरिएको उपकुलपति कप फुटसल प्रतियोगिताले चिकित्सक, कर्मचारी तथा विद्यार्थीलाई कार्यक्षेत्रभन्दा बाहिर पनि एकआपसमा घुलमिल हुने अवसर प्रदान गरेको सहभागीहरूले बताएका छन्। प्रतियोगिताले प्रतिष्ठानभित्र स्वस्थ प्रतिस्पर्धा, अनुशासन र आपसी सद्भाव कायम गर्न महत्वपूर्ण सन्देश दिएको आयोजकको भनाइ छ।