तुलसीपुर, २९ चैत्र ।
दाङको तुलसीपुरमा रहेका चारवटा विद्यालयका व्यवस्थापन समिति अध्यक्ष गैर अभिभावक भएको ठहर गर्दै उनिहरुलाई बर्खास्त गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिकाको बिहिबार बसेको कार्यपालिका बैठकले बालमितेरी माध्यामिक विद्यालय भोजपुरका अध्यक्ष शंकर खड्का, महेन्द्र माध्यामिक विद्यालय तुलसीपुरका अध्यक्ष अरुण लहरे, जनता माध्यामिक विद्यालय बिजौरीका अध्यक्ष हिमबहादुर डाँगी र माध्यामिक विद्यालय अश्वाराका अध्यक्ष किरणबहादुर शाहलाई बर्खास्त गरेको हो । बालमितेरी माध्यामिक विद्यालय भोजपुरका अध्यक्ष शंकर खड्का तुलसीपुर–१४ का वडा अध्यक्ष समेत हुनुहुन्छ ।
शिक्षा महाशाखाले पेश गरेको प्रतिवेदन अनुसार चारवटा विद्यालयका अध्यक्षहरु उपमहानगरपालिकाको शिक्षा ऐन विपरीत गैर अभिभावक व्यवस्थापन समितिको अध्यक्ष भएको पाइएपछि बर्खास्त गरिएको प्रवक्ता माधव वलीले जानकारी दिनुभयो । गैर अभिभावक भएको भन्दै अख्तियारमा उजुरी परेपछि गठित छानविन समितिले तयार परेको प्रतिवदेनलाई चैत्र २२ गते बसेको तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाको बैठकले अनुमोदन गर्दै कार्यपालिका बैठकमा पेश गर्ने निर्णय गरेको थियो । यसैगरी अन्य विद्यालयहरूमा पनि गैर अभिभावक भएर विद्यालयको अध्यक्ष भएको भए तत्काल राजीनामा दिन अनुरोध गर्दै यदि अटेरि गरेमा प्रकृया चुर्याएर बर्खास्त गर्ने प्रवक्ता वलीले बताउनुभयो ।
लाइभदाङ । २९ चैत्र २०८०, बिहीबार १९:३८ बजे