दाङमा दुई जनाकाे हत्या 

तुलसीपुर, २१ कात्तिक । दाङकाे तुलसीपुरमा एक युवकको हत्या भएको छ। अर्का एक जना गम्भीर घाइते छन्।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ नयाँवस्तीका २१ वर्षीय टोपबहादुर पुनको हत्या भएको छ।

बिहान ३ बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्‍याएलगतै चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए।

लाठी र धारिलो हतियार प्रहारबाट उनको साथमा रहेका सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ४ का १७ वर्षीय शंकर डाँगी गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ।

उनलाई थप उपचारका लागि बाँके लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि भारतको लखनउ लगिएको छ।

उनीहरुमाथि तुलसीपुर ४ कै २० वर्षीय खिमबहादुर मगर, १८ वर्षीय रेशम थापा र २१ वर्षीय विनय मगरले लाठी र धारिलो हतियार प्रहार गरेको आरोप छ।


इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले आरोपित सबै फरार रहेको र उनीहरुको खोजी भइरहेको बताए।

त्यस्तै दाङमै श्रीमानले लाठी प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ ।जिल्लाको गढवा गाउँपालिका-६ बालापुरका ६० वर्षीय दानबहादुर थापाले लाठी प्रहार गर्दा ५० वर्षीया श्रीमती सुनिता रोकाको घटनास्थलमै मृत्यु भएको हो ।

घरायसी विवादमा दानबहादुरले लाठीले टाउको र घाँटीमा हिर्काउंदा सुनिताको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मृतक सुनिता दानबहादुरकी कान्छी श्रीमती हुन् । घटनापछि दानबहादुर फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।