दाङमा साढे २५ हजार मतदाता थपिए

तुलसीपुर
१९ पुस / दाङमा पच्चीस हजार पाँच सय मतादाता थपिएका छन् । पालिकाका प्रत्येक वडामा फोटोसहितको मतदाता नामावली सङ्कलन गरिएको थियो ।  बङ्गलाचुली, बबई, शान्तिनगर र दङ्गिशरणमा गत मङ्सिर १७ देखि यही पुस २ गतेसम्म गाउँपालिकाको कार्यालयबाटै नामावली सङ्कलन गरिएको निर्वाचन कार्यालय प्रमुख निमराज भट्टराइले जानकारी दिनुभयो ।

साथै दोस्रो चरणको मतदाता नामावली सङ्कलन पुस ४ देखि पुस १८ गतेसम्म राप्ती, राजपुर र गढवा गाउँपालिकामा गरिएको उनले बताए । घोराहीको प्रदेश निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, लमही र तुलसीपुरको इलाका प्रशासन कार्यालयबाट फोटोसहितकोे मतदाता नामावली सङ्कलन भइरहेको छ ।


बसाइँसराइ र विवाह दर्ताको प्रमाणपत्रका आधारमा पनि मतदाता नामावली सङ्कलन हुने भट्टराइले जानकारी दिए । उनका अनुसार दैनिक पाँच सयदेखि नौ सयसम्मको नाम दर्ता हुँदै आएको छ ।

विशेष अभियान सुरु हुनुुपूूर्व दाङमा तीन लाख ७७ हजार पाँच मतदाताले आफ्नो नाम दर्ता गराएका थिए । पछिल्लो समय थप भएका २५ हजार ५०० सहित चार लाख तीन हजार मतदाता सङ्ख्या पुुगेको छ । नामावली दर्ता गर्न छुटेका, १६ वर्ष उमेर पूरा भई नागरिकता प्राप्त गरेका सबैलाई नामावली दर्ता गर्न प्रमुख भट्टराइले आग्रह गरे ।