महिला जागरणकालागि नमुना संसद

दाङ,१९ चैत । दाङको तुलसीपुरमा महिला जागरणकालागि नमुना संसद गठन भएको छ । समाजमा अझै पनि महिलालाई पछाडी पारिएको भन्दै यसले महिलाहरुलाई शसक्त बनाउने लक्ष्य लिएर शान्ति नमुना महिला संस्द गठन गरिएको हो ।

अहिले पनि धेरै पालिकामा महिलालाई उपप्रमुखमा सीमित गर्ने गरेको तथा महिलाका कुरा नसुन्ने गरेको भन्दै प्रभाबकारी रुपमा आवाज बुलन्द गर्न यसको भूमिका महत्वपूर्ण हुने तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले बताईन ।“हामी उपप्रमुखमा मात्रै सीमित हुने होइन्”,उनले भनिन् “नमूना संसदबाट सिकेर महिला पनि नेतृत्वमा आउनु पर्छ ।”

संसदमा उपमहानगरपालिकाका जनप्रतिनिधि, अधिकारकर्मी, सामाजिक अभियन्ताहरु रहेको ५८ सदस्यीय संसद गठन गरेको छ । जसको कार्यकाल २ बर्षको रहेको छ । जुन संसदको पटक–पटक बैठक बस्ने तथा समसामयिक विषयमा आवाज उठाउने कार्य पनि गर्ने नवजागरण महिला तथा बाल संरक्षण केन्द्र(न्यूसीपीसी)का अध्यक्ष नवराज लामिछानेले बताए । केन्द्रले नै उक्त संसद गठन गरेको हो ।

शनिबार र आईतबार दुई दिन तुलसीपुरमा संसद पनि चलेको थियो । जसमा पछिल्लो समय आर्थिक, सामाजिक, भौतिक, मानसिक विकासकालागि सरकारहरुले खेलेको भूमिकाका बारेमा छलफल भएको थियो । जुन बैठकले तुलसीपुरमा शान्ति नमुना महिला संसदले ३३ बुँदे ‘तुलसीपुर घोषणापत्र परित’ गरेको छ । संसदले पारित गरेको घोषणापत्र तुलसीपुर उपमहानगरपालिकालाई बुझाईने छ । जसले तुलसीपुरको नीति निर्माण तहमा पनि सकारात्मक प्रभाब पार्ने केन्द्रका अध्यक्ष लामिछानेले बताए ।


घोषणापत्रमा सुचना, संचार समन्वय तथा साझेदारी विकास अन्तर्गत सामाजिक परिक्षण र सार्वजनिक सुनुवाई गर्नुपर्ने, मोबाईल एपमा ई–सिफारीससहित जनगुनासो टिपाउने व्यवस्था, नागरिक बडापत्र, कर तिर्ने ब्यबस्था, बजेट कार्यक्रम, प्रगति देख्न सकिने व्यवस्था मिलाउनुपर्ने, महिलाहरुलाई सबै क्षेत्रमा अग्रसर गराउनका लागि अन्तरपार्टी महिला सञ्जाललाई सक्रिय बनाउनका लागि आवश्यक नीति तथा बजेटको ब्यबस्था गनुपर्ने उल्लेख छ ।

यस्तै तुलसीपुर उपमहानगरपालिका भित्रका सबै सार्बजनिक स्थलहरु पहुँचयुक्त बनाउनुपर्ने, उपमहानगरपालिकामा सम्पुण वडाबाट प्रतिनिधित्व हुनेगरी निःशुल्क रुपमा लोकसेवा तयारी कक्षा सञ्चालन गर्नका लागि आवश्यक पहल लिने लगायतका विषय घोषणापत्रमा समेटिएको छ । सम्पतिमा महिलाहरुको समान अधिकार स्थापनाका लागि जागरण अभियान सञ्चालन गर्नुपर्ने, उपमहानगरपालिका भित्रका पुरातात्वीक महत्वका विभिन्न मठ मन्दिर पाटी पौवा धर्मशाला गुठि गौचरण, गौशाला, पोखरी जस्ता सम्पदाहरुको संरक्षण गर्नुपर्ने लगायतका विषय समेटिएको छ ।

न्यूसीपीसीका अध्यक्ष नवराज लामिछानेको अध्यक्षता तथा नगर उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम भएको हो । समापन कार्यक्रममा नगरका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगी, निवर्तमान नगरउपप्रमुख माया आचार्य, बबई गाउँपालिकाका निवर्तमान उपाध्यक्ष सावित्रा विश्वकर्मा लगायतले शान्ति नमुना महिला संसद संचालनले महिलालाई नेतृत्वमा आउन उत्साह थपेको बताए । कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले गरेकी थिइन् ।