दीपक बोहरा
दाङ,२० चैत ।
दाङ शान्तिनगर गाउँपालिका वडा नं.२ अमुवा निवासी रेवता वलीलाई कलेजो र फोक्सोको क्यान्सर थियो । उनी लामो समय उपचारमै थिइन । उपचारकै क्रममा लाखौं खर्च भएपनि उपचार सम्भव थिएन । उनी फलोअपको क्रममा फागुन अन्तिम तिर नेपालगन्ज गइन ।
त्यतिबेला नै आफू धेरै नबाच्ने भन्दै आफैले कात्रो, लत्ताकपडा किनेर ल्याईन । त्यति मात्रै नभई रोजगारको सिलसिलामा भारत रहेका उनका छोरा प्रकाश वलीलाई पनि घर बोलाईन, भने गाउँका सबैलाई घरमा बोलाई आफू केही दिनमा मृत्यु हुने भन्दै आफ्नो श्रद्धाञ्जली सभा गरिदिन समेत आग्रह गरिन । त्यो सुन्दा स्थानीय छक्क परेका थिए ।“मृत्यु हुनुको तीन दिन अघि आफैले कात्रो, लत्ताकपडा ल्याएकी थिइँन””,उनका आफन्ती ठाकुर प्रसाद वलीले भने“त्यो सुन्दा हामी आफै दुःखी पनि भयौं, छक्क पनि प¥यौं ।”
त्यसकै तीन दिन पछि चैत १ गते वलीको मृत्यु भयो । लामो समय क्यान्सरबाट थलिएकी उनको ४८ बर्षको उमेरमा मृत्यु भयो । त्यो घटनाले सबैलाई सतब्ध बनाएको स्थानीय सरस्वति न्यौपानेले बताईन् ।
वलीले भने अनुसारनै काजकिरिया पनि गरियो । सबैलाई बोलाएर श्रद्धाञ्जलीसभा गरिदिन भनेको आग्रह अनुसार १३ औं दिनको अवसरमा मंगलबार श्रद्धाञ्जलीसभा पनि भयो ।
सोही अवसरमा सोही क्षेत्रबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य तथा निवर्तमान अर्थमन्त्री धनबहादुर मास्कीले जन्मेपछि हरेक ब्यक्तीको मृत्यु हुने भन्दै आफू बाँच्दासम्म समाजलाई सकारात्मक छाप छोड्नु पर्ने बताए ।
उनका अनुसार वली निडर महिलाको छाप छोड्न सफल भएको समेत बताए । उनका दुई छोरी र एक छोरा छन् । दुबै छोरीको विहे भइसकेको छ ।
लाइभदाङ । २० चैत्र २०८०, मंगलवार २०:०६ बजे