मेट्रो कलेजमा मेसिन मर्मत तालिम सम्पन्न

तुलसीपुर,८ चैत । तुलसीपुर मेट्रो कलेजले आयोजना गरेको सात दिने फ्रिच, एसी र वासिङ्ग मेसिन मर्मत तालिम सम्पन्न भएको  छ । मेकानिकल इन्जिनियरिङ्ग कार्यक्रममा अध्ययनरत विद्यार्थीकालागि आयोजना गरिएको तालिम विद्यार्थीहरुलाई आत्मनिर्भर बनाउनका लागि सञ्चालन गरिएको थियो । तालिम समापन कार्यक्रममा बोल्दै कलेज प्रमुख वसन्त आचार्यले विद्यार्थीहरुलाई टिक्ने र बिक्ने बनाउनका लागि तालिमको आयोजना गरिएको बताउनुभयो । किताबी ज्ञानले मात्रै प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीहरुमा सीप र क्षमताको विकास नहुने भएकाले कलेजले थप सीप विकासका लागि तालिम सञ्चालन गरिएको पनि उहाँको भनाई थियो ।


“विद्यार्थीहरुले ज्ञान आर्जनसँगै सीप र सीपसँगै आम्दानी पनि गर्न सकुन् भनेर नै तालिमको व्यवस्था गरिएको हो ” शिक्षालय प्रमुख आचार्यले भन्नुभयो । शिक्षालयले विभिन्न कार्यक्रममा अध्ययनरत विद्यार्थीका लागि विभिन्न सीपमुलक तालिम प्रदान गर्दै आइरहेको पनि आचार्यले जानकारी दिनुभयो । शिक्षालयमा अध्ययनरत ३० जना विद्यार्थीहरुको सहभागिता रहेको तालिमका प्रशिक्षकमा बासुदेव न्यौपाने रहनुभएको थियो । शिक्षालयका कार्यक्रम संयोजक अपिल आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक आयुषा रेग्मी र विद्यार्थी गिरीराज थापाले अनुभव बाँड्नुभएको थियो भने कार्यक्रमको सहजिकरण प्रशासकीय सहायक सुधासुमन ढकालले गर्नुभएको थियो ।