विदेशबाट फर्केकाहरुलाई सामुदायिक पशुसेवा सहायक बनाइदै

तुलसीपुर,२२ भदौ ।
विदेशबाट फर्केकाहरुलाई स्वरोजगार बनाउनकालागि ‘सामुदायिक पशु सेवा सहायक’ तालीम प्रदान गर्न थालिएको छ । दाङका ७ वटा स्थानीय तहमा यो तालीम सुरु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिकासहित दंगीशरण, बबई, शान्तिनगर, राप्ती र गढवा गाउँपालिकामा यस्तो तालीम चलेको छ ।

यी मध्ये लमही नगरपालिका र राप्ती गाउँपालिकामा तालीम सकिएको छ, भने अन्य पालिकामा तालीम सञ्चालन भइरहेको छ । शान्तिनगर गाउँपालिकामा ३० जना र अन्य ६ पालिकामा २०/२० जना गरि एकसय ५० जनालाई दक्ष सामुदायिक पशु सेवा सहायक बनाउने उद्देश्य अनुरुप यो कार्यक्रम सञ्चालन भइरहेको हो ।


दाङको तुलसीपुर स्थित राप्ती स्वर्गद्वारी रतननाथ प्राबिधिक शिक्षालयको आयोजनामा उक्त तालीम प्रदान गरिएको हो । सोही तालीममा शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालय तथा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको संयोजन एवं व्रिटिस काउन्सिलद्वारा ब्यबस्थित दक्षता परियोजनाको सहयोग र युरोपेली युनियनको आर्थिक सहयोगमा सुरु भएको हो । “अहिले सबै ठाउँ कार्यक्रम चलिरहेको छ”, शिक्षालयका प्रमुख सूर्यबहादुर थापाले भन्नुभयो“विदेशबाट फर्केकाहरुको उत्साहजनक सहभागिता रहेको छ ।”

तालीम एक महिनासम्म चल्नेछ । तालीम प्राप्त पछि सहभागिहरुलाई सिटिइभिटीद्वारा मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिने प्रमुख थापाले बताउनुभयो । विदेशबाट फर्केकाहरुलाई रोजगार प्रदान गर्ने र गाउँ–गाउँमा पशु स्वास्थ्य सहायक उपलब्ध गराएर किसानलाई सहज बनाउने उद्देश्य रहेको छ ।