स्वावलम्बन लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

दाङ, ३ चैत ।
‘स्वच्छ लघुवित्त हाम्रो अभियान’ भन्ने मूल नाराका साथ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय घोराही दाङले दुई दिने केन्द्र प्रमुख अन्तरक्रिया तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । शाखा कार्यालय घोराही दाङ अन्तर्गत सञ्चालित विभिन्न केन्द्रका केन्द्र प्रमुखहरुको सहभागितामा सञ्चालित कार्यक्रममा सोही कार्यालय अन्तर्गत केन्द्र नं.३० को केन्द्र प्रमुख महेश्वरी घर्तीको अध्यक्षतामा तथा घोराही उपमहानगरपलिका–४ का अध्यक्ष मधुसुदन शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

साथै कार्यक्रममा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका ईलाका प्रबन्धक दिपक महत, सामाजिक अभियन्ता अशोका भण्डारीको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन शाखा कार्यालय घोराहीका दिनेश शर्माले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि मधुसुदन शर्माले स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले दिएका सेवाहरुमध्ये कर्जा विमा सेवाले सेवाग्राही सदस्यलाई भवितव्य पर्दा प्राप्त हुने राहत र संस्थाले गरेका विभिन्न सामाजिक कार्यहरुको प्रसंशा गर्दै सेवाको निरन्तरता र वित्तीय संस्थाको उज्वल भविष्यको शुभकामना व्यक्त गरेका थिए । कर्जा सदुपयोग गर्नुपर्ने, समुहमा मिलेर काम गर्दा उपलब्धी हासिल गर्न सहज हुने, संस्थाले स्थानीय निकायसँग समन्वय गरी हातेमालो गरेर अगाडि बढेमा आर्थिक तथा सामाजिक रुपान्तरण गर्न सकिने, र लघुवित्तले आर्थिक आय आर्जनमा मात्र नभइ उनीहरुको परिवारको शैक्षिक स्तरलाई अझै सुदढ बनाउनतर्फ ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा शाखा कार्यालय घोराहीका चेतनाथ बगालेले वित्तीय संस्थाको समग्र सेवाको बारेमा प्रस्तुतीकरण मार्फत जानकारी प्रदान गरेका थिए भने ईलाका कार्यालयका प्रबन्धक दिपक महतले संस्थाको परिचयसहित वर्तमान अवस्था, समसामयिक समस्याहरु र समाधानका उपायका सम्बन्धमा चर्चा गर्दै वित्तीय संस्थाको आगामी रणनीतिको सम्बन्धमा प्रकाश पारेका थिए ।


त्यस्तै वित्तीय संस्थाका अजय कुमार केसी, रुक्मिणी शाही, पदम विक र यादब पन्थीले आयोजित कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै बजार हल्लाको पछि नलाग्न र कर्जा सदुपयोत तथा वित्तीय अनुशासन कायम राख्न सुझाव दिए । कार्यक्रममा बोल्दै शाखा प्रमुख चेतनाथ बगालेले शाखा कार्यालयको स्थापनाकाल देखि हालसम्मको प्रगतीको अवस्था र बचत तथा कर्जाको बारेमा, लघुवित्तमा बहुबैंकिङले पार्ने समस्याका बारेमा जानकारी गराउँदै सहभागीबाट उठेका जिज्ञासाको बारेमा समेत प्रष्ट पारेका थिए ।

कार्यक्रममा वार्षिक केन्द्र मूल्याङ्कनका आधार नेपाल प्रथम, कार्यालय द्वित्तीय र तृत्तीय हुने केन्द्रहरुलाई क्रमश नगद २५ हजार, ४ हजार र ३ हजार नगदका साथै प्रमाणपत्र प्रदान गरिएको थियो । साथै गत आर्थिक वर्षमा एसईइसीमा उत्कृष्ट नम्बर ल्याउने एक जना विद्यार्थीलाई नगद रु १० हजार साथै प्रमाण पत्र प्रदान गरिएको थियो । कर्जा बीमा तथा ग्राहक संरक्षण कोषबाट ३ जना सदस्यहरुलाई ८ लाख ९२ हजार ५ सय राहत सुविधा समेत वितरण गरिएको थियो । सो कार्यक्रम बिभिन्न केन्द्रमा आबद्ध २३५ जना भन्दा बढी सदस्य तथा अभिभावकहरुको सहभागितामा सम्पन्न भयो ।

स्वावलम्वन लघुवित्त वित्तीय संस्था लि।प्रचलित कम्पनी ऐन बमोजिम नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भइ नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोवार गर्न ईजाजत पत्र प्राप्त “घ” वर्गको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो ।यस वित्तीय संस्थाले देशभर ६१ जिल्लामा रहेका १४५ वटा शाखाउपशाखा र ९ वटा ईलाका कार्यालयहरुमार्फत करिब २ लाख ६० हजार भन्दा बढी विपन्न महिला सदस्यहरुलाई समूहमा आवद्ध गराई बचत, कर्जा, विप्रेषण, लघुबीमा लगायतका अत्यावश्यक बैंकिङरवित्तीय सेवा प्रदान गर्ने कार्य गर्दै आइरहेको छ ।