तुलसीपुर उपमहानगरको ४ बर्षको विद्युत बक्यौता बाँकी, तिर्न बाँकी एक करोड बढी

दीपक बोहरा
दाङ,२९ फागुन ।
पटक–पटक ताकेता गर्दा पनि तुलसीपुर उपमहानगरपालिकाले विद्युतको बक्यौता रकम बुझाएको छैन । विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख ज्ञानप्रसाद फर्सालका अनुसार उपमहानगरपालिकालाई विद्युत बक्यौता तिर्न ५ पटक भन्दा बढि पत्र पठाईएको छ । तर, पनि कुनै चासो नदिएको उनले गुनासो गरे ।‘हामीले बिभिन्न चरणमा गरि ५ पटक भन्दा बढि पत्र पठाएका छौं’,उनले भने‘तर, अलिहेसम्म पनि विद्युत महशुल तिर्न कुनै चासो दिएको छैन ।’

विद्युत महशुल नतिरेको भन्दै विद्युत कार्यालयले एक बर्ष अघि उपमहानगरपालिकाको लाईन नै काटिदिएको थियो । तत्कालिन नगरप्रमुख घनश्याम पाण्डेले विद्युत बक्यौता तिर्ने मौखिक प्रतिबद्धता जनाएपछि विद्युत सूचारु गरिएको थियो । तर, पनि एक बर्षसम्म त्यो प्रतिबद्धता कार्यान्वयन हुन सकेको छैन । लिखित सम्झौताकालागि ताकेता गर्दा पनि उपमहानगरपालिकाले त्यो मान्न तयार नभएको समेत फर्सालले बताए ।

हाल उपमहानगरपालिकाले एक करोड १० लाख भन्दा बढि विद्युत बक्यौता तिर्न बाँकी रहेको फर्सालले बताए । उनका अनुसार ४ बर्ष ४ महिनाको बक्यौता रकम ८८ लाख ८६ हजार ९ सय ९० रहेको छ, भने विद्युत मिटर रिडिङ भएको ४० दिनसम्म बक्यौता नबुझाएको जरिवाना गरि १ करोड १० लाख भन्दा बढि रहेको उनले बताए ।


उपमहानगरपालिकाले बजार भित्रका सडकबत्तिको विद्युत महशुल बुझाएको छैन । यदि महशुल नबुझाएमा सडक बत्तिको विद्युत नै काट्ने उनको भनाई छ ।“हामीले पटक–पटक विद्युत महशुल बुझाउन ताकेता गरेका छौं”,उहाँले भन्नुभयो“तर, पनि कुनै चासो दिईएको छैन, यदि महशुल नबुझाए हामीले सडक बक्तिको विद्युत काट्ने तयारीमा छौं ।”

विद्युत महशुल नतिरेको कुरा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले पनि स्वीकार गरे ।‘जहाँ मिटर बक्स छ, त्यसको भुक्तानी गरेका छौं”,उनले भने“तर, सडक बत्तिको सन्दर्भमा हामीले बक्यौता रकम भुक्तानी गर्न सकेका छैनौं ।”