
देउखुरी,११ जेठ ।
घरेलु तथा साना उद्योग कार्यालय घोराहीले विगतका आर्थिक वर्षहरूमा सिप विकास तालिम प्राप्त गरेका सहभागीहरूसँग लमहीमा अन्तरक्रिया तथा उद्यमशीलता परामर्श कार्यशाला कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा तालिम प्राप्त सहभागीहरूको अनुभव, चुनौती र उद्यम सञ्चालनका सम्भावनाबारे छलफल गरिएको थियो । सहभागीहरूले तालिमपछि व्यवसाय सञ्चालनमा देखिएका समस्या, बजार व्यवस्थापन, पूँजी अभाव तथा उत्पादन प्रवद्र्धनका विषयमा आफ्ना धारणा राखेका थिए । कार्यक्रमको अध्यक्षता कार्यालय प्रमुख सुदर्शन शर्माले गरेका थिए भने प्रमुख अतिथि देउखुरी उद्योग वाणिज्य संघ का अध्यक्ष कमल जंग सिंह ठकुरी थिए ।
उनले सीपलाई उत्पादन र रोजगारीसँग जोड्न आवश्यक रहेको बताउँदै उद्यमशीलताको विकासले स्थानीय अर्थतन्त्र बलियो बन्ने धारणा राखे ।कार्यक्रममा परामर्शकर्ता राजेन्द्र रायमाझीले उद्यम सञ्चालनका व्यावहारिक पक्ष, व्यवसाय विस्तारका अवसर तथा बजार प्रतिस्पर्धाबारे सहजीकरण गरेका थिए । कार्यक्रममा उद्योग अधिकृत गोपाल पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन मनोज कुमार आचार्यले गरेका थिए ।



लाइभदाङ । ११ जेष्ठ २०८३, सोमबार १९:२१ बजे