प्रिया स्मृती गजमेर,
लमही, ३० फागुन ।
लमही नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा प्रकाश देवकोटा आउनु भएको छ । देवकोटालाई बुधबार लमही नगरपालिकाले एक कार्यक्रमको आयोजना गरेर स्वागत गरेको हो । त्यस्तै सेवानिवृत्त प्रशासकीय अधिकृत देवेन्द्र प्रसाद श्रेष्ठलाई विदाई गरिएको छ ।
नवलपरासी बर्दाघाट सुस्ता पश्चिममा सहायक प्रमुख जिल्ला अधिकारीमा कार्यरत रहनु भएका प्रकाश देवकोटालाई स्वागत गरिएको हो भने सेवानिवृत्त हुनु भएका प्रशासकीय अधिकृत देवेन्द्र प्रसाद श्रेष्ठलाई सम्मानका साथ विदाई गरिएको हो ।
सो अबसरमा लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले प्रमुख प्रशासकीय अधिकृतका कारण केहि समयदेखि रोकिएका सबै कामले गति पाउने बताउनु भयो । लमही नगरपालिकामा सरुवा भएर आउनु भएका र सेवानिवृत्त भएर विदाई हुनु भएका प्रमुख प्रशासकीय अधिकृतका लागि आयोजना गरेको स्वागत तथा विदाई कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले सो कुरा बताउनु भएको हो ।
‘प्रशासकीय अधिकृतहरुको सरुवा बढुवा जस्ता प्रक्रियागत कुराले गर्दा लमही नगरपालिकामा केहि असहज भएकै हो तर अब जनताले महसुस गर्ने गरि नगरपालिकाको काम अगाडी बढ्छ भन्नेमा म विश्वस्त छु’ नगर प्रमुख चौधरीले भन्नु भयो । पालिकामा भएका निर्णयलाई मुर्तरुप दिने भनेको कर्मचारी संयन्त्रले हो, जनप्रतिनिधिले गरेका निर्णयलाई कार्यान्यवन गर्ने जिम्मेवारी पनि कर्मचारीकै भएकोले दत्तचित्तका साथ् लाग्न सबैलाई निर्देशन दिनु भएको छ ।
त्यसैगरी नगर उपप्रमुख लक्ष्मी योगीले लमही नगरपालिकाले केहि गर्न सकेन भन्नेहरुलाई कामबाट जवाफ दिनु पर्ने बताउनु भयो । पछिल्लो समयमा नगरपालिकाले प्रदान गर्ने सेवामा थुप्रै जनगुनासा आएकाले ति गुनासालाई चिरफार गर्दै कार्य सम्पादन गर्नु पर्ने उपप्रमुख योगीले बताउनु भयो । ‘समग्र नगरपालिकाको बारेमा सबैले सोच्नु पर्छ, यदि कर्मचारीले तनमन लगाएर काम गरेन् भने जनप्रतिनिधिले जति निर्णय गरेपनि केहि हुँदैन’ उपप्रमुख योगीले भन्नु भयो ।
नगरपालिकालाई चुस्तदुरुस्त राख्नका लागि कर्मचारीहरु एक भएर अगाडी बढ्नु पर्ने प्रशासकीय अधिकृत प्रकाश देवकोटाको भनाई छ । ‘विधि र प्रक्रियालाई आत्मसात गर्नु पर्छ, हामीले हाम्रो नगरपालिका कस्तो गराउने भन्ने हामीमै भर पर्छ, सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी बहन गर्यौ भने हामीले छोटो समयमा राम्रो नतिजा दिन सक्छौ’ उहाँले भन्नू भयो ।
त्यसैगरी सेवानिवृत्त हुनु भएका प्रशासकीय अधिकृत देवेन्द्र प्रसाद श्रेष्ठले एक वर्षसम्म नगरपालिकामा रहि जनताको सेवा गर्न पाएको भन्दै खुशी व्यक्त गर्नु भयो । नगरपालिकाको विकास गर्नका लागि जनप्रतिनिधिले मात्र नभएर कर्मचारीको पनि हात रहने वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पौडेलले बताउनु भयो । हिजका दिनमा जे जस्ता घटनाक्रम भए ती सबै कुरा भुलेर सबैले आफ्नो जिम्मेवारी बोध गरेर अगाडी बढ्नु पर्ने वडा अध्यक्ष पौडेलको भनाई छ । रेडियो हाइबेका सम्पादक तथा लमही नगरपालिकाका प्रेस सल्लाहकार लिला शाहले मन्तव्य राख्नु भएको थियो ।
लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ शाखाका मीना शर्मा भुसालले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सहजीकरण प्रशासन शाखा प्रमुख महेश थापा ठेडीले गर्नु भएको थियो ।
लाइभदाङ । ३० फाल्गुन २०८०, बुधबार १८:३० बजे