श्रमिक महिला दिवसको महत्त्व

नारायणी शर्मा ‘प्रतीक्षा’
आज त्यो दिन हो । विश्वका श्रमजीवी महिलाले वीरताको इतिहास रचेको दिन अर्थात् ८ मार्चलाई संसारभरिका श्रमिक महिलाले श्रमिक दिवसका रूपमा मनाउने गर्छन् । आजको दिन संघर्षको दिन, उत्सवको दिन र महानताको परिणाम निकालेको दिन हो ।

महिलाहरुले गर्दै आएका विभिन्न प्रकारका आन्दोलनलाई मध्यनजर गर्दै सन् १९१० मा डेनमार्कको कोपेनहेगनमा १७ देशका १०० महिलाहरूको सम्मेलन गरियो, जसले १९११ देखि हरेका वर्ष ८ मार्चमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने र समानताको आन्दोलनलाई निरन्तर अगाडि बढाउने निर्णय गयो । जुन दिन महिलाका लागि खुसी र उत्साह र परिवर्तनको दिन थियो । महिलाहरू अघि बढे, आँट र साहस गरे आखिर नसकिने के पो छ र भन्ने कुरालाई स्थापित गर्न सफल भए ।

त्यतिवेला विश्वमा महिलाहरूलाई मतदानको समेत अधिकार थिएन। समान काम असमान ज्यालाको उत्पीडन महिलाले खेपिरहेका थिए । बढी समय काम गर्नुपर्दा महिलाले न विश्राम लिन पाउँथे, न त मनोरञ्जनका लागि हिँडडुल गर्न पाउँथे । यस्तै तमाम उत्पीडनका विरुद्धमा सुरु गरेको आन्दोलनले इतिहासमा पहिलो पटक महिलाहरूको आवाज बुलन्द ग¥यो । जसका कारण हरेक क्षेत्रमा समान कामको समान ज्याला स्थापित ग¥यो । महिलाहरूको पनि मताधिकारको अधिकार सुनिश्चित ग¥यो । आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन, आठ घण्टा विश्रामको तालिका स्थापित गर्न त्यहाँका शासकलाई बाध्य बनायो । महिलाहरूले उठाएका तमाम मुद्दा सम्बोधन गर्न शासकहरु बाध्य हुँदै आए । यद्यपि हाम्रो परिवेशलाई नियाल्दा अझै पनि महिलाका सबै माग र मुद्दा सम्बोधन भएको अवस्था होइन ।

नेपालको आन्दोलनको इतिहासलाई हेर्ने हो भने महिलाहरू समाज रूपान्तरणमा प्रतिबद्ध र कटिबद्ध रूपमा लागिरहेकै छन् । नालापानीको लडाइँमा होस् या राणाशासक फाल्ने लडाइँमा; पञ्चायत अन्त्यका लागि होस् या जनयुद्धको महान् यात्रामास जहाँ पनि महिलाहरु रगत बगाएरै अघि बढेका छन् । जनयुद्धको त्यो महान् यात्राको जगबाट जनआन्दोलन हुँदा महिलाको बलिदानी सानो छैन । यद्यपि आन्दोलनबाट जेजति उपलब्धि प्राप्त भएको छ, महिलाले त्यसको पूर्णरूपमा उपभोग गर्न सकेका छैनन् । सरकारी स्तरमा लागु गरिए पनि निजी र असंगठित क्षेत्रमा आज पनि ज्यालाको विभेद कायमै छ । आज सामाजिक क्षेत्रमा महिला सहभागिता जबर्जस्ती अलि–अलि समावेश गरिए पनि लगानी र उपस्थितिका आधारमा अवसर दिन समाज तयार छैन । विकसित देशहरूमा यो विभेद अलि कम भए पनि नेपालजस्ता अविकसित यो खाडल अझै डरलाग्दो छ ।


सामन्ती समाजमा पुरुषले घरबाहिरको काम गर्दा श्रमको मूल्य नगदमा प्राप्त गर्थे तर घरमा काम गर्ने महिलाको श्रमको मूल्य थिएन, त्यसो हुँदा महिलाहरू पुरुषको कमाइमा बाँच्ने निरीह प्राणीजस्तै हुन पुगे । सदियौँदेखिको यो परम्पराले महिलाले आफूलाई कमजोर बनाइएको महसुस गरे । उनीहरूले पनि घरमा दिनरात नभनेर गरेको श्रम (भान्सा, घरगोठदेखि खेतबारीसम्म) को मूल्य देखिएन र महिलाको श्रमको कुनै मूल्य भएन, यसो हुँदा पुरुषको भरमा बाँच्ने प्राणीका रुपमा महिलालाई समाजले स्थापित गर्न पुग्यो । जो नेपाली समाजमा अझै पनि विद्यमान छ । एकातिर घरबाहिर काममा गए पनि असमान ज्याला कायमै रह्यो भने अर्कोतिर घरमा गरेको श्रमको मूल्य नहुँदा महिलाहरू दोस्रो दर्जाको नागरिकका रूपमा स्थापित हुन पुगे । समाज र राज्यले महिलाहरूमाथि गरेको यो विभेदलाई अन्याय र विभेदका रूपमा हेरिएन, भाग्य र कर्मको खेलका रूपमा व्याख्या गरियो, यही कुरालाई समाजमा स्थापित गर्न लगाइयो । घरमै दोस्रो दर्जाको नागरिकसरह भइसकेपछि समाज र राज्यमा महिला सहभागिताको कुरा धेरै टाढाको विषय बन्यो । आज सामन्ती संस्कार बोकेका कैयौँ देशमा यो समस्या विद्यमान छ । एकातिर अविकसित समाजमा यो समस्या छ भने अर्कोतिर विकसित देशमा महिलालाई उपभोग्य वस्तुका रूपमा बुझ्ने संस्कृति विकास भएको छ । आज पनि ठुल्ठुला फेसन सो र विज्ञापनहरूमा महिलाको प्रयोग मात्र छैन, सुन्दरी प्रतियोगिताजस्ता माध्यमबाट नारी सुन्दरताको व्यापार गरिएको छ । त्यस कारण हिजोको सामन्ती समाज श्रमको मूल्य र असमान ज्याला र पुँजीवादी समाजमा महिलालाई उपभोग्य वस्तु बनाएर महिलामाथिको विभेद कायम गरिएको छ । आज पनि हिजो अमेरिकाबाट सुरु गरिएको महिला विद्रोहलाई स्मरण गर्दै गर्दा आजको आधुनिक समाजमा महिलामाथिको नयाँ प्रकारका विभेदका विरुद्ध अर्को लडाइँ आवश्यक छ ।

नेपालको संविधानले पहिलो पटक राज्यका सबै तहमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको छ । महिलाको जनसङ्ख्या ५१ प्रतिशतभन्दा बढी छ तर ३३ प्रतिशत सहभागिता भन्नु विभेद हो । महिलाको जनसंख्याका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ । दोस्रो यही ३३ प्रतिशत लागु गर्न पनि राजनीतिक दल र सामाजिक अगुवाहरूमा अनेक आनाकानी छ । कानुनी बाध्यताले जबर्जस्ती ३३ प्रतिशत दिए पनि सहायक र कमजोर जिम्मेवारी दिएर कानुनी जटिलताबाट उम्कनेबाहेक समाज अगाडि जान सकेको छैन ।

८ मार्च या भनौँ श्रमिक महिला दिवस मनाउँदै गर्दा हिजोका महिलाले हिजोका असमानताविरुद्ध विद्रोह गरेजस्तै आजको असमानताका लागि आज संघर्ष गर्नुपर्नेछ । समान कामको समान ज्याला र घरेलु श्रमको मूल्यका लागि जनसंख्याका आधारमा राजनीतिक र सामाजिक क्षेत्रमा सहभागिताका लागि पुँजीवादी साम्राज्यवादी संस्कृतिले विकास गरेको उपभोग्य संस्कृतिको भण्डाफोर गरी पुरुष सरहको सामाजिक हैसियत बनाउनका लागि लडाइँ जारी छ । त्यसकारण श्रमिक महिला दिवस मनाइरहँदा यी विभेदका विषयमा विवेचना गरौँ, छलफल गरौँ र क्लारा जेट्किन क्रुस्सकाया, जेनी, चियाङचिङ, हरिमाया, नोना कोइराला, सहाना प्रधान, धनमाया श्रेष्ठ, कुमारी बुढा, दिलमाया योञ्जनजस्तै २१औँ शताब्दीको मान र सम्मानमा हर क्षेत्रमा लडाइँ लड्न जागरुक बनाऔँ । त्यसकारण श्रमिक महिला दिवसको जुन महत्त्व थियो, आज झनै बढेको छ । यो तथ्यलाई सबैले मनन गरौँ ।

सबै विभेदको अन्य गर्न एक जुट बनौँ ! महिलाहरूको एकता माथि उठाऔँ । सबैमा श्रमिक महिला दिवसको हार्दिक शुभकामना । साभारः रातो पाटी