तुलसीपुर खानेपानीको निर्वाचन एक महिना भित्र गराउन अदालतको आदेश 

तुलसीपुर
१५ कात्तिक / उच्च अदालत तुलसीपुरले एक महिना भित्र निर्वाचन गराउन तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई आदेश गरेको छ । अदालतका न्यायाधीश नस्रुल्लाह अन्सारी र रमेश पोखरेलको इजलासले खानेपानीले अदालतको पत्र प्राप्त गरेको मितिले एक महिना भित्र आर्थिक प्रतिवेदन पारीत गरि निर्वाचन गराउन आदेश दिएको हो । संस्थाका पूर्व कर्मचारी यमुना कडेँल शाहले दायर गरेको रिटमा सोमबार सुनुवाई गर्दै यस्तो आदेश दिएको हो । शाहले गएको फागुनमा बन्दसत्र नगरेर निर्वाचन गराउन लागेको भन्दै रिट दायर गर्नुभएको थियो ।  त्यसपछि संस्थाका निर्वाचन प्रभाबित भएको थियो ।

अदालतले गरेको यो फैसलाले खानेपानीमा देखिएको समस्या तत्काल हट्ने संस्थाका सदस्य रञ्जनकुमार गौतमले बताउनुभयो । “आज फैसला भयो, म पनि सहभागि थिएँ”, उहाँले भन्नुभयो“ यो फैसलाले अबको एक महिना भित्र निर्वाचन हुन्छ, अहिले जुन समस्या देखिएका छन्, ति समस्या समाधान हुन्छन् ।”

रिट निवेदकका तर्फबाट बरिष्ठ अधिबक्ता डिल्लीराज धिताल र मधु गौतमले बहस गर्नुभएको थियो, भने खानेपानी संस्थाको तर्फबाट  मोहनप्रसाद धिताल, रामशरण चौधरी, पुस्करबहादुर भण्डारी र  सुनिल धितालले बहस गर्नुभएको थियो । त्यस्तै तुलसीपुर उपमहानगरपालिकाको तर्फबाट विनु श्रेष्ठ र प्रकाश रेग्मीले बहस गर्नुभएको थियो ।


समयमा निर्वाचन नभएको र अदालत तथा अख्तियारसम्म मुद्दा परेको भन्दै संस्थाका अध्यक्ष खेमराज वलीले नैतिकताका आधारमा पदबाट राजीनामा दिएको पत्रकार सम्मेलन गरि जानकारी गराउनुभएको थियो । त्यसपछि कर्मचारीलाई तलब खुवाउनेदेखि अन्य काम गर्नकालागि जिल्ला प्रशासन कार्यालयले कोषाध्यक्ष र लेखा प्रमुखलाई  जिम्मेवारी तोकेको थियो ।

रिट निवेदन परेपछि गएको फागुन २२ गते निर्वाचन तोकिएको निर्वाचन कार्य रोक्न अदालतले आदेश गरेको थियो । गएको बर्ष बन्दसत्र बहुमत सदस्यले बहिस्कार गरेका थिए ।