
दाङ, ३१ साउन ।
अविरल वर्षाका कारण रोल्पामा पहिरोले घर पुरिँदा एक वृद्धको मृत्यु भएको छ । जिल्लाको लुङग्री गाउँपालिका–५ धैरेनीमा साउन ३० गते राति परेको लगातारको वर्षापछि आएको पहिरोले घर पुरिँदा ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको हो । प्रहरी चौकी किलाचौर रोल्पाका अनुसार आफ्नै घरमा सुतिरहेको अवस्थामा माथिबाट खसेको पहिरोले गुरुङलाई पुरेको थियो । घटनाबारे साउन ३१ गते बिहान ३ः०० बजे खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
पहिरोमा च्यापिएर मृत अवस्थामा भेटिएका गुरुङको टाउकोको भाग मात्र देखिएको थियो । स्थानीयवासी र प्रहरीको संयुक्त टोलीले उद्धार कार्य जारी राखेको प्रहरीले जनाएको छ ।
यस्तै शनिबार राति पहिरोमा परेर थप एक जनाको मृत्यु भएसँगै बुधबार यता पहिरोमा परी रोल्पामा मात्रै मृत्यु हुनेको संख्या १७ पुगेको छ । यसअघि बुधबार थबाङ गाउँपालिकामा पहिरोले बस्ती नै बगाउँदा १२ जनाको मृत्यु भएको थियो भने अझै एक जना बेपत्ता छन् । २ जनाको बुटवलमा उपचार चलिरहेको छ ।
त्यस्तै बिहीबार सुनछहरी गाउँपालिका–२ फलबाङ र गिट्ठेमा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु भएको थियो । रोल्पाको पूर्वी क्षेत्रमा पाँच दिनको अवधिमा पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ भने अझै १ जना बेपत्ता छन् ।



लाइभदाङ । ३१ श्रावण २०८३, आईतवार १३:०२ बजे