पवन्नगर खानेपानीमा ‘ट्रिटमेन्ट प्लान’ कालागि डीपीआर हुँदै

दाङ,०१ भदौ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१ र २ कार्य क्षेत्र रहेको पवन्नगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा पानी शुद्धीकरण आयोजना (ट्रीटमेन्ट प्लान्ट) निर्माणको प्रक्रिया अघि बढेको छ । विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने सन्दर्भमा शुक्रबार भएको छलफलमा सरोकारवालाहरूले आयोजनालाई दिगो र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष हुमकान्त सापकोटाले कुनै पनि योजना सुरु गर्नुपूर्व उपभोक्ताहरूको सहमति र कानुनी प्रक्रिया पुरा गर्न सुझाव दिएका छन् । उनले ५० प्रतिशत रोगहरू दूषित पानीकै कारण लाग्ने भएकाले शुद्धीकरण आयोजना अनिवार्य रहेको बताए । विशेषगरी सामुदायिक वनको जग्गा प्रयोग गर्दा कानुनी अड्चन आउन सक्ने तर्फ सचेत गराउँदै उनले जग्गाको विषयमा कार्य समिति गम्भीर हुनुपर्ने बताए । भबिष्यमा विवाद नहुने गरी निर्णय गरेर अघि बढ्नुपर्ने उनको धारणा छ । उनले समितिलाई घेराभन्दा बाहिर निस्किएर फराकिलो सोचका साथ योजना बनाउन समेत आग्रह गरे ।

साना सहरी खानेपानी महासंघका अध्यक्ष खेमराज वलीले ‘राम्रो खानेपानी र हाम्रो खानेपानी’ अभियानलाई सार्थक बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए । उनले यो आयोजना सम्पन्न भएपछि उपभोक्ताले धाराबाटै सिधै पिउन मिल्ने स्वच्छ पानी प्राप्त गर्ने बताए । वलीले भविष्यको १० देखि ५० वर्षसम्मको बढ्दो जनसंख्यालाई मध्यनजर गर्दै अहिलेको क्षमताभन्दा दोब्बर क्षमताको डिजाइन गर्न इन्जिनियरहरूलाई आग्रह समेत गरे । उनका अनुसार ८०/२० को सहलगानी अवधारणा अन्तर्गत आयोजनालाई अगाडि बढाइनेछ ।


त्यस्तै पवननगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सलाहकार विनोद शर्माले खानेपानीको मुद्दामा राजनीतिलाई बाहिर राखेर काम गर्नुपर्ने बताए । उनले विगतमा पवननगर खानेपानी ठूलो योजना भए पनि पछिल्लो समय केही सुस्त देखिएको भन्दै अब गति लिनुपर्ने उल्लेख गरे । शर्माले उपभोक्तालाई पानीको शुद्धता र महत्व बुझाएर मासिक शुल्कमा केही थप गरी लगानी जुटाउन सकिने र यसका लागि आफूले केन्द्रीय निकायहरूसँग निरन्तर समन्वय गरिरहेको जानकारी दिए ।

त्यस अवसरमा काँग्रेस तुलसीपुर १ का सभापति निर्मल कुमार आचार्य, इन्जिनियर राजेन्द्र वल, सल्लाहकार चुडामनी ढकाललगायतले सुझाब दिएका थिए ।

उक्त खानेपानीको ट्रिटमेन्ट प्लानकालागि अहिले डिपीआरको काम अघि बढेको छ । यस अघि ट्रिटमेन्ट प्लान नहुँदा समस्या हुने गरेको छ ।
संस्थाका अध्यक्ष टिकाराम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष डम्बर बहादुर गिरीले गरेका थिए, भने सहजीकरण सचिब डोटे बस्नेतले गरेका थिए ।