
काठमाडौँ । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरूद्ध जाहेरी दिएकी छन् । सोमबार उनले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी हुन् । उपसभामुख ठाकुरले जाहेरी दिएको ललितपुरका एसएसपी तुल बहादुर कार्कीले पुष्टि गरे । उनले भने, ‘जाहेरी आएको छ, हामी अध्ययन गर्दैछौँ।’
उपसभामुख ठाकुरविरूद्ध जनआस्थामा केही दिनअघि एउटा सामाग्री प्रकाशन भएको थियो । उपसभामुखले सो पत्रिकाले आफ्नो चरित्र, प्रतिष्ठा र सामाजिक मर्यादामा आँच पुग्नेगरी अनलाइन सामग्री प्रकाशित गरेको भन्दै ठाकुरले उनलाई कारबाही गर्न माग गरेकी छन् ।
उपसभामुख ठाकुरले श्रेष्ठविरूद्ध विद्युतीय कसुर ऐन २०६३ अनुसारको कसुरमा अनुसन्धान गर्नुपर्ने जाहेरीमा उल्लेख गरेकी छिन् ।
यसअघि बुधबार साँझ पक्राउ परेका किशोरी श्रेष्ठलाई आज सर्वोच्च अदालतले रिहा गर्न आदेश गरेको छ। साउन २५ मा जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीसँग सम्बन्धित एक सामग्री प्रकाशन भएको थियो । श्रेष्ठले सांसद चाैधरीसँग एक युवतीको तस्बिर सार्वजनिक गरेका थिए। सो प्रकरणमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
श्रेष्ठविरुद्ध एक महिलाले जाहेरी दिएकी थिइन्। उनीविरूद्ध वैयक्तिक गोपनीयता सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको भएपनि बन्दी प्रत्यक्षीकरणको रिटबाट श्रेष्ठ रिहा भएका हुन्।



लाइभदाङ । १ भाद्र २०८३, सोमबार २३:५८ बजे