पत्रकारीता सिक्दै कानुनका विद्यार्थीहरु

तुलसीपुर, १३ फागुन ।
तुलसीपुर मेट्रो कलेजमा बिएएलएलबी छैठो सेमेस्टरमा अध्ययनरत देविसरा वलीलाई समाजमा घटेका घटनाका बारेमा कानूनी दृष्टिले रिपोर्टिङ्ग गर्ने ठूलो रहर छ । तर पत्रकारिताको ज्ञान नहुदा उनको लेख्ने रहर केवल रहरमै सिमित थियो । तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी सुशिल रानालाई पनि सामाजिक विषयमा केही लेख्न पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो । लेखन सीपको ज्ञान नहुँदा उनको मनको कुरा पनि पुरा भएको थिएन ।

कानुनका बारेमा जानकार विद्यार्थीहरुलाई लेखन सीपको विकास गराउनका लागि नेपाल पत्रकार महासंघ दाङ्गले दुई दिने पत्रकारिता तालिमको आयोजना गरेपछि उनीहरुजस्ता कानून पढ्ने अन्य विद्यार्थीहरु निक्कै खुसी देखिन्छन् । तुलसीपुर मेट्रो कलेजमा बिएएलएलबी अध्ययनरत विद्यार्थीहरुमध्येबाट पत्रकारितामा रुचि राख्ने ३२ जना विद्यार्थीहरु तालिममा सहभागी रहेका छन् ।


कार्यक्रमको उद्घाटन गर्दै बरिष्ठ पत्रकार टिकाराम रेग्मीले पत्रकारितामा धेरै सम्भावना भएको बताए । ‘पत्रकारितामा समाजलाई बदल्न सक्ने शक्ति हुन्छ ’ पत्रकार रेग्मीले बताए । कार्यक्रममा बोल्दै तुलसीपुर मेट्रो कलेजका प्रमुख बसन्त आचार्यले कानूनका विद्यार्थीहरुको सृजनात्मक विकासका लागि कलेजले बुलेटिन प्रकाशन गर्न लागेको बताए । ‘समाजमा कानूनी ज्ञानको अभावमा पनि केयौ अपराधहरु भइरहेका छन् अब कानुन जानेकाहरुले लेखेर समाजमा जागरण फैलाउनुपर्दछ’ कलेज प्रमुख आचार्यले भने ।

नेपाल पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसीले पत्रकारिताका बारेमा सबैले जानकारी राख्नुपर्ने बताउँदै कानूनका विद्यार्थीहरुलाई यसको धेरै आवश्यकता हुने बताए । २ दिनसम्म चल्ने तालिमका प्रशिक्षकमा दुर्गालाल केसी, नारायण खड्का र सन्तोष सुवेदी रहेका छन् ।