ईमरजेन्सी वार्डमा दुर्घटनाका घाइते भरिए तर, डाक्टर २ घण्टा पछि आए

दाङ, ७ कात्तिक । दाङको तुलसीपुरमा आईतबार अपरान्ह पाँच बजेतिर यात्रुबहाक बस दुर्घटनामा प¥यो । दुर्घटनामा घाइते भएका २१ जनालाई लगतै तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगियो । घाइतेले इमरजेन्सी वार्ड भरियो । तर, समयमा डाक्टर आएनन् । ‘दुर्घटना भए लगतै डाक्टरलाई फोन गरिएको थियो’अस्पतालका एक कर्मचारीले भने‘अस्पतालले क्वाटर दिएको छ, यो भनेको ईमरजेन्सी अबस्थामा जतिबेला पनि डाक्टर हाँजिर हुनकालागि हो, तर १÷२ घण्टा पछि मात्रै डाक्टर देखिनुभयो, निकै समस्या प¥यो ।’ अस्पालमा अहिले ८÷९ जना कन्सलटेन्सी डाक्टर भएपनि अफ्टेरो पर्दा समयमा नआउने गरेको उनको गुनासो थियो ।
अस्पतालको समीक्षा कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेले डाक्टरहरु समयमा नआउँदा अस्पतालले बदनामित खप्नु परेको गुनासो गरेका थिए । त्यसको केही समय पछि भएको उक्त दुर्घटनाको उपचारकालागि डाक्टर नआउनुले पनि त्यो कुराको पुष्टि गरेको छ ।

दुर्घटनामा दुईजना गर्भवति महिला पनि घाइते भएका थिए । उनीहरुको भिडियो एक्सरे गर्नु पर्ने भयो । तर, अस्पतालमा लामो समयदेखि दरबन्दीमा रहेका रेडियोलोजिस्ट डाक्टर आएका छैनन् । एकजना दरबन्दीका रेडियोलोजिस्ट डा.रामेश्वर देवकोटा छन् । कोभिड अस्पताल बेलझुण्डीमा उनको दरबन्दी भएपछि उनी कोभिड अस्पताल थिए । तर, अहिले प्रादेशक अस्पतालमै कोभिड अस्पताल आइसकेपछि अस्पतालमा आउनु पर्ने भएपनि नियमित नरहेको अस्पताल स्रोतले बताएको छ ।‘उहाँको दरबन्दी पहिले प्रादेशिक अस्पताल अन्तर्गत रहेको बेलझुण्डी कोरोना बिशेष अस्पतालमा थियो’, उनले भने‘तर, अहिले कोरोना अस्पताल प्रादेशिकमै आइसक्दा नियमित हुनुपर्ने हो, तर, अहिलेसम्म नियमित आएको देखिदैन ।’ अस्पतालमा अर्का एक जना रेडियोलोजिस्ट डा. सरोज पौडेल करारमा थिए । तर, उनको गएको शुक्रबार मात्रै करार अबधी सकियो ।

रेडियोलोजिस्ट नभएपछि अस्पतालमा घाइतेहरुलाई नै उद्दार गरेर पुगेका राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा‘अपार’को अनुरोधमा फ्याम्ली फिजिसियन डा. सर्वेश शर्मालाई बोलाएर ति दुईजना गर्भवति र अर्का एकजना गरि तीन जनाकोे भिडियो एक्सरे गरिएको हो ।‘खासमा रेडियोलोजिस्टले भिडियो एक्सरे गर्नुपथ्र्यो’ ति कर्मचारीले भने‘तर, रेडियोलोजिस्ट नभएपछि डा. सर्वेशले नै भिडियो एक्सरे गरियो ।’
अगाडी खाल्डो थियो, त्यही जोगाउन खोज्दा पल्टियो
खाल्डोलाई जोगाउन खोज्दा तुलसीपुरमा बस दुर्घटना भएको चालकले प्रहरी समक्ष बयान दिएका छन् । आईतबार पाँच बजेतिर घोराहीबाट तुलसीपुर आउँदै गरेको यात्रुबहाक बस दुर्घटनामा परेको थियो ।‘पिच सकिदै थियो, अगाडी खाल्डो परेको थियो, त्यही खाल्डोलाई जोगाउन खोज्दा गाडी पल्टियो’, चालकले दिएको बयानबारे जानकारी दिदै ईप्रका तुलसीपुरका प्रहरी नाउब उपरीक्षक श्यामु अर्यालले भने । त्यही स्थानमा यस अघि पनि गाडी दुर्घटनामा परेको थियो । अहिले चारलेन मर्मत कार्य भइरहेको छ । मर्मत गर्दा सडकमा खाल्डाखुल्डी छन्, त्यसले पनि दुर्घटना बढाएको छ ।


सोही दुर्घटनामा सहचालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार घोराही उपमहानगरपालिका– १० का २८ वर्षीय प्रेम परियारको मृत्यु भएको हो । दुर्घटनामा परि गम्भीर घाइते भएका परियारलाई राप्ती प्रादेशिक अस्पताल तुल्सीपुर प¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
ना ६ ख ७६३३ नम्बरको गाडी दुर्घटनामा परि घाईते २१ जना मध्ये चारजना डिस्चार्ज भइसकेका छन् । अन्यको अबस्थामा पनि सामान्य रहेको प्रहरीले बताएको छ । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

दीपक बोहरा/नयाँ पत्रिका