प्रमोद आचार्य
दंगीशरण, ८ माघ ।
दाङको दंगीशरण गाउँपालिकाले जग्गाको नाप नक्सा गर्ने कार्य तिब्र पारेको छ । यसै क्रममा वडा नं. ३ ले आज सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी वडा नं.४ मा नाप नक्साको काम सम्पन्न भएको र वडा नं. ३ मा जग्गा नाप नक्साको औपचारीक शुरुवात भएको जानकारी गराएको हो ।
सोमबार वडा नं. ३ को नाप जाचको औपचारिक उद्घाटन गर्दै दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले कामलाई जतीसक्दो छिटो सम्पन्न गर्नतर्फ लाग्न आफुहरु लागीपरेको बताउनुभयो । आफुहरुले छिमेकी गाउँपालिकाबाट मेसीन मागेर ल्याएर भएपनि ३ वटा मेसीन चलाएर जतीसक्दो चाडो नापजाचको काम सक्ने गरी अगाडि बढेको जानकारी गराउनुभयो । अर्को एक प्रसङ्गमा अध्यक्ष गिरीले आफुहरुले वडा नं. ४ को नापजाचको सम्पुर्ण काम सम्पन्न गरीसकेकाले तत्काल लालपुर्जा वितरण गर्ने सोचमा रहेको र यसको समन्वय तथा सल्लाह सुझाव दिन जिल्ला भुमि आयोग दाङलाई आग्रह गर्नुभयो ।
सो अवसरमा अध्यक्ष गिरीले गाउँपालिकाका ७ वटै वडामा गरी ५६ वटा ठाउँमा जिपिएस प्वाइन्ट राखिएको बताउनुभयो । जग्गा नाप नक्सा गर्न टोटल स्टेसन खरीद गरी कामलाई तिब्रताका साथ अगाडी बढाएको जानाकरी गराउनुभयो । छलफल अवसरमै गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले जग्गा नाप नक्सा कार्य पछि वर्षौ देखिको जग्गा सम्बन्धी समस्या समाधान हुने बताउनुभयो ।
निर्वाचनको समयमा समेत आफूले भूमि समस्याको समाधान गर्ने प्रतिबद्धता गरेको कुरा स्मरण गर्दै अध्यक्ष गिरीले जग्गा नाप नक्सा गरि तत्काल लालपुर्जा वितरणका लागि पहल गर्ने समेत बताउनुभयो ।
कार्यक्रममै बोल्दै जिल्ला भुमि आयोग दाङका अध्यक्ष लेखराज रेग्मीले वडा नं. ४ मा लालपुर्जा वितरण गर्न आवश्यक समन्वय गर्न आफु तयार रहेको बताउनुभयो । अब वडा नं. ३ मा तीब्रताका साथ जग्गा नापजाचको काम अगाडी बढाउन र केही समस्यापरे आफुहरु सङ्ग समन्वय गरेर अगाडी बढ्न अध्यक्ष रेग्मीले सुझाव दिनुभयो ।
त्यस्तै पालिकाकी उपाध्यक्ष पिमा वली खड्काले नाप नक्सा गर्ने कार्यमा सबैको साथ र सहयोगको आवश्यकता रहेको बताउनुभयो। उहाँले सबैको साथ र सहयोग भए मात्रै समयमै नाप नक्सा गर्ने कार्य सम्पन्न हुने बताउदै सानातिना विवाद भए वडामा गठित विवाद समाधान समिति मार्फत विवाद सुल्झाउन समेत सुझाव दिनुभयो ।
कार्यक्रममा नापि कार्यालय दाङका प्रमुख पुरण चौधरीले जग्गा नापजाचमा कुनै समस्या भए नापि कार्यालय दाङमा समन्वय गर्न सुझावदिनुभयो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत डिलाराम पाण्डेले पालिकाको ७ वटै वडामा जग्गाको निस्सा वितरण कार्य भइ सकेको बताउदै निवेदन छुट भएका व्यक्तिहरुका लागि राष्ट्रिय भूमि आयोग दाङसँग समन्वय गरेर अन्तिम पटक पुनः निवेदन संकलन गर्नका लागि सूचना प्रकाशन गर्ने तयारीमा गाउँपालिका रहेको बताउनुभयो ।
गाउँपालिका भरि ३८, सय ,१० जना भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु रहेका छन्। जसमध्ये ३४ सय एकाउन्न अब्यबस्थित बसोबासी,१ सय ९६ जना भूमिहिन सुकुमबासी, १ सय ६३ जना भूमिहिन दलितको आवेदन संकलन भएको लगत प्रविस्टकर्ता जुगमनि चौधरीले जानकारी दिनुभयो ।
कार्यक्रम वडा नं. ३ का वडा अध्यक्ष शुकलाल चौधरीको अध्यक्षता,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता,तथा गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काको बिशिस्ट आथित्यतामा भएको थियो ।
लाइभदाङ । ८ माघ २०८०, सोमबार १६:५९ बजे