राप्ती गाउँपालिकाद्वारा पशु विकास शाखा प्रमुख पौडेल र लेखा अधिकृत शर्माको बिदाई

तुल बहादुर कवँर मगर
देउखुरी, १३ वैशाख ।
दाङ देउखुरीको राप्ती गाउँपालिकाले वरिष्ठ पशु विकास अधिकृतको रुपमा बढुवा भई कृषि तथा पशुपंछी विकास मन्त्रालय सिंहदरबार काठमाडौंमा जान लाग्नु भएका पशु विकास शाखा प्रमुख जिवराज पौडेल र अनिवार्य अवकाश प्राप्त गर्नु भएका लेखा अधिकृत धनप्रसाद शर्मालाई बिहिवार एक कार्यक्रमको आयोजना गरि बिदाई गरेको छ।

पालिकाका अध्यक्ष प्रकाश विष्ट,उपाध्यक्ष कमलापती चौधरी र प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले पौडेल र शर्मालाई टीका,फूलमाला तथा सम्मानपत्र प्रदान गरि बिदाई गर्नुभएको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीको अध्यक्षता तथा पालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता एवम् उपाध्यक्ष कमलापती चौधरीको विशिष्ट आतिथ्यतामा भएको उक्त बिदाई कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले स्थानीय तहमा काम गर्दा विभिन्न चुनौतीहरु आउने चर्चा गर्दै त्यसलाई सफलतापूवर्क पार गरि पौडेल र शर्माले इमान्दार कर्मचारीका रुपमा आफूहरुलाई प्रमाणित गरेको बताउनुभयो ।

त्यस्तै अध्यक्ष विष्टले हरेक कार्यालयमा उहाँहरु जस्तो कर्तव्यबोध, ईमान्दार र लगनशील कर्मचारीको आवश्कता रहेको कुरा समेत औल्याउनुभयो। गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीले पालिकामा सेवा अवधिभर दुबै जनाले निकै उत्कृष्ट कार्य गरेको बताउदै आगामी दिनमा समेत पालिकाको विकास र समृद्धिको लागि सहयोग अपेक्षा गर्नुभयो।


सेवा अवधिभर जनताको कामलाई सधै प्राथमिकतामा राखेर कहिलै कसैको गुनासो नआउने गरि उत्कृष्ट कार्य सम्पादन गरेको बताउदै प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले उहाँहरु बाट पालिकाले धेरै कुराहरू अनुसरण गर्नु पर्ने बताउनुभयो ।

त्यस्तै बढुवा भई जान लाग्नुभएका पशु विकास शाखा प्रमुख जिवराज पौडेल र अनिवार्य अवकाश प्राप्त गर्नु भएका लेखा अधिकृत धनप्रसाद शर्माले सेवा अवधिभर आफूहरु सदैब जनता र राष्ट्र प्रति कर्तव्यनिष्ठ, इमानदार, लगनशील र निष्पक्ष भएर सेवा प्रवाहमा प्रयत्नशील रहेको बताउनुभयो।

वि.सं.२०६७ साल देखि नेपाल सरकारको निजामती सेवामा प्रवेश गर्नु भएका पौडेल करिब २ वर्षदेखि राप्ती गाउँपालिकाको पशु विकास शाखा प्रमुखको रुपमा कार्यरत हुनुहुन्थ्यो भने वि.सं. २०४५ साल देखि नेपाल सरकारको निजामती सेवामा प्रवेश गर्नु भएका शर्मा करिब ५ वर्षदेखि राप्ती गाउँपालिकाको लेखा अधिकृतको रुपमा कार्यरत हुनुहुन्थ्यो।

गाउँपालिकाका प्रशासन शाखा प्रमुख विकास ज्ञवालीले सहजीकरण गर्नुभएको उक्त बिदाई कार्यक्रममा गाउँपालिकाका विभिन्न वडाका वडा अध्यक्ष ,कार्यपालिका सदस्य तथा कर्मचारीहरुको सहभागीता रहेको थियो ।