हस्पिटलमा लगानी बढ्नु सकारात्मक

दाङमा अझै पनि भरपर्दो उपचार छैन । सामान्य दुर्घटना भएमा कोहलपुर रेफर गर्नुपर्छ । गतिलो आईसियु छैन । उपचारकालागि उचित दक्ष जनशक्ति पनि उत्तिकै अभाब छ । स्रोत साधनहरु छैनन् । जसले गर्दा यहाँका ठूला भनिएका अस्पतालहरुले पनि बाहिरी जिल्लामै रेफर गर्ने गर्छन । दाङ विरामी रेफर गर्ने जिल्लाका रुपमा परिचित छ । सामान्य विरामीलाई पनि बाहिरी जिल्ला रेफर गर्नुपर्ने अबस्था छ ।

जिल्लामा दुई ठूला अस्पताल छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र राप्ती प्रादेशिक अस्पताल तुलसीपुर जिल्लाका ठूला अस्पताल छन् । निजि स्तरबाट खुलेका धेरै अस्पताल पनि दाङमै छन् । तर, ति अस्पतालले दाङमै विरामीलाई सेवा दिन सकिरहेको अबस्था छैन । यो अबस्थामा जिल्लामा निजि स्तरबाट पनि प्रस्ताबित मेडिकल कलेजका रुपमा सञ्जिबनी मेडिकल सञ्चालनमा आउने कुरा सुखद हो । जिल्लामै एमविविएस डाक्टर पढ्न पाउने तथा जस्तो सुकै विरामीले पनि जिल्लामै उपचार पाउने गरि अस्पताल खोलिएको छ । यसरी जिल्लामा स्वास्थ्य क्षेत्रमा लगानी भित्रिनु सकारात्मक पक्ष हो ।


यहाँ हरेक क्षेत्रमा विकृति छ । सम्बेदनशील क्षेत्रमा पनि ब्यापार छ । मानवियता, ब्यबहारिकता भन्दा पनि ब्यापार बढि हुँदा स्वास्थ्य जस्तो सम्वेदनशील क्षेत्रलाई नै धुमिल्याउने गर्छ । स्वास्थ्यका नाममा ब्यापार हुँदा त्यसले स्वास्थ्य क्षेत्रमा पनि प्रश्न उठाउने गर्छ । गुणस्तरीता, ब्यबहारिक, मानवताको कुरालाई ध्यानमा राखेर काम गर्नु कुरामा भने सचेत बर्गले झक्झक्याउनु पर्छ । ठूलो लगानीमा खुलेका स्वास्थ्य संस्थाहरुले पनि नागरिककालागि के–के सुविधा दिन्छन्, कस्तो सेवा दिइरहेका छन्, शूल्क ब्यबस्थापन कसरी गरिरहेका छन्, बैधानिकता छ की छैन, भन्ने कुरालाई ध्यान दिनुपर्छ । साभारः अग्रिम साप्ताहिक