विगतमा ताला लगाउनेहरु, अहिले आफै महोत्सव चलाउँदैछन्

अन्जना बिश्वकर्मा
तुलसीपुर,१६ पुष ।
तुलसीपुरमा महोत्सव लगाउने विषयमा चौतर्फी विरोध भएको छ । विगतमा अरु संस्थाले महोत्सव लगाउँदा चर्को विरोध गरेको तुलसीपुर उद्योग वाणिज्य संघले अहिले आफैले महोत्सव लगाउन थालेपछि चर्को विरोध भएको हो ।

संघका कार्यसमिति सदस्य रुपेश शर्माले नै महोत्सव लगाउने विषयमा विरोध जनाएका छन् । अरूले लगाउँदा गलत तर, आफूले लगाउदा सही हुने गरेका नहुँने उनको तर्क छ ।‘व्यापारीहरूको हित बिपरित लगाउने मेलाको म अरू संस्था मात्र होईन आफु बसेको संस्थाको पनि बिरोधी नै हो’,उनले सामाजिक सञ्जालमा भनेका छन्‘ हिजोका दिनमा अरू संस्थाले मेला लगाउन खोज्दा मेला लाग्नु हुन्न भन्दै उचाल्ने तपाईहरूको नैतिकता नभएपनि मेरो चाँहि छ ।’ आफू ब्यापारीले जिताएर आएको भन्दै ब्यापारिको पीडा आफूलाई थाहा भएको भन्दै यसको विरोध गर्नुपर्ने उनले बताएका छन् ।

तुलसीपुर उद्योग वाणिज्य संघको अगुवाइमा गएको वर्ष युथ अफ तुलसीपुरले आयोजना गरेको महोत्सव रोक्नकालागि उपमहानगरपालिकामा ताला समेत लगाईएको थियो । त्यस्तै अघिल्लो वर्ष तुलसीपुर चेम्बर अफ कमर्शले महोत्सव लगाउँदा पनि त्यस्तै विरोध भएका थिए । तर, अहिले उद्योग वाणिज्य संघले लगाउँदा ठीक हुने, अन्य संस्थाले लगाउँदा बेठीक नहुँने भन्दै यो कार्य बन्द गर्नुपर्ने तुलसीपुरका अर्का ब्यबसायी देबेन्द्र केसीले सामाजिक सञ्जाल मार्फत बताएका छन् ।


उनले विगतमा महोत्सव लगाउन अनुमति दिने तुलसीपुर उपमहानगरपालिकालाई थुनेको भन्दै अब उद्योग वाणिज्य संघको अध्यक्षलाई थुन्ने बताए । ‘हिजोका दिनमा मेला नलगाऊ व्यवसायीहरू समस्यामा छन् भनी अग्रसर भै आन्दोलन गर्दै स्थानीय सरकार र प्रमुख को कार्य कक्षमै ताला लगाई थुन्न पनि पछि परिएन’,उनले भने‘आज आएर उद्योग वाणिज्य संघले मेला लगाउने कुरा सुनियो, अब फेरी अध्यक्ष थुनिन तयार हुनुहोस् ।’

महोत्सवले तुलसीपुर क्षेत्रका ब्यबसायीहरूलाई मर्कामा पार्ने गरेको उनीहरूको गुनासो छ । संघले माघ १८ गतेदेखि २८ गतेसम्म कृषि,उद्योग तथा ब्यापारिक महोत्सव लगाउने गरि तयारी गरेको छ । तर, विगतमा कृषिको नाममा महोत्सव चलाएपनि कृषि नाम मात्रै हुने गरेको थियो । विदेशी सामग्रीको किनबेच मात्रै हुने गरेको थियो । संघको नाममा महोत्सव चलाएपनि ठेक्का दिने प्रचलन रहदै आएको छ ।

यसरी महोत्सव चलाउँदा यस क्षेत्रमा ६ महिनासम्म ब्यापार ठप्प हुने गरेको कपडा ब्यबसायीहरूको गुनासो रहेको छ । उद्योग वाणिज्य संघले प्रत्येक समितिको कार्यकालमा एक पटक मेला, महोत्सव लगाउँदै आएको छ । मेला, महोत्सवले पार्ने प्रभाब भन्दा पनि आफू स्थापित हुन यसरी महोत्सव लगाउने गरिएको छ । साभारः अग्रिम साप्ताहिक