रचनात्मक सुझावको अपेक्षा छ : नगर प्रमुख चौधरी

प्रिया स्मृती गजमेर,
लमही, १० चैत  । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले नगरपालिकाले सदैव रचनात्मक सुझावको अपेक्षा गरेको बताउनु भयो । व्यवस्थित गर्नका लागि हरेक प्रयास भैरहेको बताउनु भयो । हामीले एक्लै गरेर मात्र हुँदैन समग्र नगरपालिकाको विकासका लागि सबैको सहयोगको खाँचो छ, आउनुस सबै मिलेर हातेमालो गरौँ’- नगर प्रमुख चौधरीले भन्नु भयो ।

अटो व्यवस्थापन, सडक फराकिलो जस्ता कामहरुको लागि नगरपालिकाले योजनाबद्द तरिकाले लागि पर्ने उहाँको धारणा छ । शुक्रबार लमहीमा देउखुरी सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्र लमहीद्वारा आयोजित ‘नागरिक सुनुवाइ कार्यक्रम’ मा बोल्दै नगर प्रमुख चौधरीले सो कुरा बताउनु भएको हो ।

विद्यार्थीहरुलाई सतामार्गमा कसरी लैजान सकिन्छ ? अहिले समाजमा मानव अधिकार हननका घटना भैरहेका छन्, हत्या हिँसा, लुटपाट जस्ता जघन्य अपराध भैरहेको छ यस तर्फ सबैको गम्भीर ध्यान जान जरुरी रहेको उहाँको भनाई छ ।

सहभागीहरुले विभिन्न होटलमा हुने योनधन्दालाई निर्मूल पार्नु पर्ने, नदिजन्य पदार्थको उत्खननमा निकास हुनु पर्ने, ट्राफिक चेकजाँचमा सहजता हुनु पर्ने, लागू औषध रोकथाम तथा नियन्त्रणमा गम्भीर भएर लाग्नु पर्ने, टिप्पर आतंकलाई नियन्त्रण गर्नु पर्ने, सार्वजनिक यातायातमा सबैको पहुँचलाई सहजता गराउनु पर्ने कुरा राखेका थिए ।


जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख राम बहादुर केसीले व्यवसायका नाममा गलत क्रियाकलाप गर्न कसैलाई पनि छुट नभएको बताउनु भयो । ट्राफिक चेकजाँचलाई प्रभावकारी र सुरक्षित गराउनका लागि कडाई गर्नु परेको बताउनु भयो ।

लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले समाजमा फैकिएका विकृती विसंगतीलाई न्यूनीकरण गर्न सहज हुने बताउनु भयो । नगरपालिकालाई समृद्धि बनाउनका लागि सबैको रचनात्मक सहयोग चाहिन्छ, सबै नगरबासीबाट सहयोगको हामी अपेक्षा गरेका छौं”- देवकोटाले भन्नू भयो ।

कार्यक्रममा वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले हालसम्म गरेका काम कारबाहीको बारेमा जानकारी गराउनु भएको थियो । देउखुरी सामुदायिक सेवा केन्द्र लमहीका अध्यक्ष किरण विक्रम शाहको अध्यक्षता एवम् लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाकी उपाध्यक्ष गोमा बस्नेतले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सहजीकरण सदस्य दुख हरण यादवले गर्नु भएको थियो ।