
भालुबाङ, ३ असोज ।
संविधान दिवस–२०८२ को अवसरमा नेकपा (माओवादी केन्द्र) राप्ती गाउँ कमिटीले शुक्रबार साँझ भालुबाङमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम गाउँ कमिटीका अध्यक्ष रणबहादुर पुजाली ‘राजेन्द्र’ को अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य होमप्रसाद शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले संविधान दिवसले राष्ट्रिय एकता, सार्वभौमसत्ता र जनअधिकारलाई मजबुत बनाउन अवसर दिलाएको उल्लेख गर्दै संविधान कार्यान्वयनमा अझै चुनौती रहे पनि प्राप्त अधिकारको संरक्षण गर्दै अघि बढ्नु आवश्यक रहेकोमा जोड दिनुभयो ।
वक्ताहरुले पछिल्लो समय जेन्जी पुस्ताले उठाएका मुद्दा र मागहरू माओवादी आन्दोलनकै निरन्तरता भएको स्मरण गराउँदै युवा पुस्ताको जागरणलाई सकारात्मक दिशामा मार्गनिर्देशन गर्दै सामाजिक न्याय, समावेशिता र समान अवसरका लागि निरन्तर संघर्षरत रहने प्रतिबद्धता जनाउनुभयो ।
सो अवसरमा प्रदेश सचिवालय सदस्य टोपबहादुर कार्की, प्रदेश सदस्य तथा राप्ती गाउँपालिका सह–इन्चार्ज नारायण शर्मा लगायतले संविधान जनअधिकार सुनिश्चित गर्ने ऐतिहासिक उपलब्धि भएको बताउनुभयो । उहाँहरूले मुलुकलाई राजनीतिक स्थायित्व र समृद्धिको बाटोमा अघि बढाउन संविधान कार्यान्वयन अपरिहार्य रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा पार्टीका विभिन्न तहका पदाधिकारी, जनवर्गीय संगठनका प्रतिनिधि, स्थानीय नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण गाउँ कमिटीका वरिष्ठ उपाध्यक्ष तुला गिरीले गर्नुभएको थियो ।



लाइभदाङ । ३ आश्विन २०८२, शुक्रबार २०:३९ बजे