यातायात कार्यालय तुलसीपुरलाई सारिदै

देव राज कँडेल
दाङ, २८ मंसिर ।

यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुरले आईतबारदेखि आफ्नै भवनबाट सेवा दिने भएको छ । तुलसीपुर–६ घोराहीरोडमा भाडाको भवनबाट संचालित कार्यालयले आइतबारदेखि आफ्नै भवन तुलसीपुर–६ को गाइडहरदेखि सेवा दिन लागेको हो ।

कार्यालयले सामाजिक विकास डिभिजन कार्यालयको भवनबाट सेवा दिन लागेको कार्यालय प्रमुख रमेश गौतमले जानकारी दिएका छन् । उनका अनुसार गाईडहरबाट सेवा दिनका आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ ।


सामाजिक विकास डिभिजन कार्यालयलाई भने तुलसीपुर–१२ मा रहेको शैक्षिक तालिम केन्द्रमा सारिएको छ । गत भदौ ११ गते बसेको लुम्बिनी प्रदेशको मन्त्रीपरिषद प्रदेशको बैठकले भाडाको घरमा संचालित यातायात व्यवस्था कार्यालय राप्तीलाई सामाजिक विकास डिभिजनको भवनमा सार्ने निणर्य गरेको थियो ।

कार्यालयले अहिले मासिक करिब ५० हजार भाडामा मात्रै खर्च गरिरहेको कार्यालयका लेखा प्रमुख उत्तम डाँगीले जानकारी दिएका छन् । भाडाको घरमा ठाउँ पनि अपर्याप्त रहेको र भाडामा रकम पनि खर्च भइरहेको अवस्थामा आफ्नै भवनबाट सेवा दिन लागेको उनले बताए । आफ्नै भवनबाट सेवा दिँदा सेवाग्राहीलाई पनि थप सहजता हुने कार्यालयका प्रशासन प्रमुख लोक बहादुर केसीले बताएका छन् ।