मुलुकको अर्थतन्त्र उठाउन सरकार, समुदाय र निजी क्षेत्र मिल्नुपर्छ : अर्थमन्त्री

काठमाडौं २१ असोज ।

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र माथि उठाउन सरकार, समुदाय र निजी क्षेत्र मिल्नुपर्ने बताएका छन् । बिहीबार राजधानीस्थित स्यूचाटार बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिकोत्सव तथा साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सरकार समन्वयकारी भूमिकामा रहने भन्दै सरकारले लगानी नगर्ने र व्यवस्थापनमा बढी केन्द्रित हुने उनको भनाइ थियो । ‘संविधानमा आधारित रहेर सरकारले नीति निर्माण गर्ने हो,’ उनले भने, ‘समग्रमा समुदायलाई उत्पादनसँग जोड्नुपर्छ ।’

समुदायलाई नै जोडेर विकास र प्रगतिको बाटोमा जानुपर्ने उनको भनाइ छ । ‘सरकार, समुदाय र निजी क्षेत्र यी तीन वटा कुरालाई जोडेर जाने हो । यसमा समुदाय मुख्य हो । समुदायले नै सबैलाई नेतृत्व गरिरहेको हुन्छ,’ उनले भने, ‘ यसरी जान सकियो भने छोटो समयमा समृद्ध हासिल गर्न सकिन्छ ।’

नेपालको विकास क्रम हेर्दा सामुदाय प्राथमिकतामा रहेको भन्दै उनले मुलुकका ठूला(ठूला भवन, दरबार समुदायले सहकार्यमार्फत नै निर्माण सम्भव भएको स्मरण गरे । अहिले समुदाय केन्द्रित भएर समग्र राष्ट्रको विकास गर्नुपर्ने आवश्यकता उनले औंल्याए ।


सहकारीहरूले अधिकांश लगानी अनुत्पादक क्षेत्रमा लगाएको भन्दै उनले त्यो लगानी अब उत्पादनमुलक क्षेत्रमा लगाउन आग्रह गरे । उत्पादन क्षेत्रमा लगानी गरे सहकारी संस्थाको मात्र उन्नति नभएर समग्र समुदाय र राष्ट्रकै उन्नति हुने उनले बताए ।

सहकारीहरूले कम्पनी खोलेर पूँजी लगानी गर्न पाउने नीति पारित भएको जनकारी गराउँदै उनले सहकारीहरूले लगानी गर्न नपाउने स्थिति भएको भन्ने कुराका आधारमा व्यवस्था गरिएको बताए । अब जनतासँग भएको पैसा सहकारीहरूले संकलन गरेर लगानी गर्न पाउने उनको भनाइ छ ।