मावि सौडियारको सहायक प्रधानाध्यापकको जिम्मेवारी शिक्षक दामोदर पाण्डेलाई

दाङ, २९ बैशाख । श्री माध्यमिक विद्यालय घोराही ७ सौडियारको सहायक प्रधानाध्यापक पदको जिम्मेवारी विद्यालयका शिक्षक दामोदर पाण्डेले प्राप्त गर्नु भएको छ । लामो समयदेखि शिक्षण पेशामा कृयाशिल हुनु हुने पाण्डे बिद्यालयभित्र इमान्दार, मेहनती शिक्षककोरुपमा आफ्नो परिचय स्थापित गर्नु भएको छ । विद्यालयका शिक्षक यमलाल रिजालले सहायक प्रधानाध्यापक पदबाट राजीनामा दिएसंगै रिक्त रहेको सो पदमा पाण्डेलाई नियुक्त गरिएको हो । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईको अध्यक्षता तथा घोराही ७ का वडा अध्यक्ष खोपिराम चौधरीको विशेष उपस्थितिमा बिद्यालयमा बसेको बैठकले तत्कालको लागि बिद्यालयको काम कारबाहीलाई ब्यबस्थित, मर्यादित र चुस्तदुरुस्तरुपमा अघि बढाउन सहायक प्रअमा पाण्डेलाई जिम्मेवारी दिएको हो । यसअघि पाण्डेलाई विद्यालयको उत्कृष्ट शिक्षककोरुपमा लुम्बिनी प्रदेशका तत्कालिन मुख्यमन्त्री डिल्लि चौधरीले सम्मान समेत गर्नु भएको थियो । त्यती मात्रै होइन, शिक्षक पाण्डेले कयौं बर्ष आफ्नो योग्यता क्षमता अनुसार माथिल्लो कक्षाको पठनपाठन नि:शुल्क रुपमा समेत पढाउनु भएको थियो ।
बैठकले सहायक प्रअमा नब नियुक्त पाण्डेलाई बधाई तथा शुभकामना दिदै आफ्नो योग्यता, दक्षता विद्यालयको हितमा प्रयोग गरेर विद्यालयको शैक्षिक अबस्थालाई माथी उठाउन भुमिका खेल्ने अपेक्षा राखेको निमित्त प्रधानाध्यापक नन्दबहादुर वलिले बताउनु भयो । विद्यालयको आर्थिक अबस्था निकै कमजोर रहेकाले विद्यालयलाई आर्थिक सहयोग गर्न वडा कार्यालय, घोराही उपमहानगर नगर शिक्षा महाशाखालाई अनुरोध गर्ने बैठकले निर्णय गरेको छ । त्यस्तै बिब्यस बैठकले विद्यालयमा रिक्त रहेको लेखापालको नियुक्ति प्रकृयालाई अघि बढाउने पनि निर्णय गरेको शिक्षक अभिभाबक संघका अध्यक्ष लोकबहादुर कवरले बताउनु भयो ।