कृषि शाखा प्राविधिकको फूलखेति

दाङ,२५ कार्तिक ।
दाङ दंगीशरण गाउँपालिकामा कृषि शाखाका प्राविधिक आशिष बुढाथोकी दिनभर सेवाग्राहीको काममा ब्यस्त हुने गरेपनि साँझ विहान फूलखेतिमा ब्यस्त हुने गर्छन । उनले चाडपर्वलाई लक्षित गरि ब्यबसायिक फूल खेति गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं.१५ पहरुवामा उनले ब्यबसायिक सयपत्री फूल खेति गरेका हुन् ।“ म दिनभर सेवाग्राहीसंग ब्यस्त हुन्छु”,उनले भने “साँझ विहान फूलखेति हेर्छु ।”

आफ्नो खाली समयलाई फूल खेतितर्फ जोडेको उनले बताए । आफ्नो विज्ञता पनि कृषि मै भएकाले कृषि क्षेत्रसंग आफू जोडिने गरेको बुढाथोकीले बताए । उनले तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ पहरुवामा १५ कठ्ठा जग्गामा फूल खेति गरेका छन् । जसबाट २० क्वीन्टल फूल उत्पादन हुने अनुमान रहेको छ ।


त्यहाँ ७२ कठ्ठा जग्गा भाडामा लिएर अन्य तरकारी खेति गरेको भएपनि १५ कठ्ठा जग्गामा फूल खेति गरेको बुढाथोकीले बताए । “मैले अन्य कृषि खेति पनि गर्ने गरेको छु, सिजन अनुसारको खेति हुन्छ”,उनले भने“अहिले मैले १५ कठ्ठामा त्यसरी फूल खेति गरेको छु ।” ७२ कठ्ठा जग्गालाई बार्षिक दुई लाख रुपैँया भाडा तिर्ने गरेको उनले बताए ।

उत्पादित फूललाई बजारमा माग अनुसार प्रदान गर्ने बुढाथोकीले बताए । माग अनुसार माला पनि बनाएर बेच्ने तथा फूल पनि बेच्ने उनले बताए । “फूल पनि बेच्ने र माग भएमा माला पनि बनाएर बेच्ने हाम्रो तयारी छ”,उनले भने । उहाँले यस बर्ष मालाको प्रतिगोटा एकसय ५० रुपैँया र मालाको प्रति किलो तीन सय रुपैँयामा विक्री गर्ने बताए ।