गाउँले पनि खोज्न छोड्यो‘मादल’

अन्जना बिश्वकर्मा
तुलसीपुर, २१ कार्तिक ।
कुनै समय मादल बनाउन भ्याईनभई हुने वादी समुदायमा अहिले सुनसान जस्तै हुन्छ । चाडपर्वमा झनै चहलपहल हुने त्यो समुदाय अहिले भने मादल नबिक्ने चिन्तामा छ । चाडपर्वमा गाउँ–शहर सबैले मादल खोज्थे । केही समयपछि शहरले मादल खोज्न छोडे पनि गाउँले खोजिरहेको थियो ।

तर, पछिल्लो समय गाउँले पनि मादल खोज्न छोडेपछि वादी समुदाय चिन्तित बनेका छन् । कुनै समय निकै माग हुने मादल पछिल्लो समय माग घट्दै गएको तुलसीपुर ७ निवासी खिलराज नेपालीले बताए । “मादलको ब्यापार पहिले भन्दा कम छ, चाडपर्वमा अलिअलि माग भएपनि अन्य समयमा माग नै हुँदैन”,उनले भने “बजारमा खासै माग गर्दैनन्, गाउँघर तिरबाट अलिअलि माग आउछ, त्यो पनि पहिले जस्तो छैन ।”

मादल बनाउने वादी समुदायको पुख्र्यौली पेशा हो । पछिल्लो समय युवा पुस्ताले पनि मादलबाट आम्दानी नदेखेपछि अन्य पेशामा लागेका छन् । यसले गर्दा पुख्र्यौली पेशा पनि लोप हुने अबस्थामा रहेको भन्दा वादी समुदाय चिन्तित छन् ।“मादल बनाउने हाम्रो पुख्र्यौली पेशा हो”उनले भने “तर पछिल्लो हामीले बनाएका मादल नै बिक्न छोडेका छन्, यसले गर्दा हामी निराश भएका छौं ।” बिगतमा एक महिनामा ५० भन्दा बढि मादल बिक्री हुने गरेको भएपछि पछिल्लो समय ५÷७ वटा मात्रै बिक्री हुने गरेका छन् ।

पछिल्लो समय बर्षेनी मादलको माग घट्दै गएको उनले बताए । “मैले लामो समयदेखि मादल बनाउँदै आएको छु” उनले भने “चाडपर्वमा मात्रै, अन्य समयमा सुनसान हुने गरेकाले पेशा नै धरापमा पर्ने खतरा छ ।”


मादलमा भविष्य नदेखेपछि बादी समुदायले अन्य पेशा रोज्न थालेका छन् । “मादलमा भविष्य देखिदैन, दुःख अनुसारको आम्दानी पनि छैन”,विरबहादुर नेपालीले भने “त्यसैले मैले मादल बनाउन छोडेर अटो चलाउन थालेको छु ।”

पछिल्लो समय मादल बजाउन नै छाडिएको छ । मेला, पर्व, उत्सवलगायतमा मादलको सट्टा डेग नै बढि प्रयोग हुने गरेको छ, त्यसले गर्दा पनि मादलको माग घट्दै गएको राजकुमार नेपालीले बताए । पहिले बजारमा रहेको डेग,उफरको चलन अहिले गाउँमा पनि भित्रिएको छ । त्यसले गर्दा पनि समस्या हुने गरेको नेपालीले बताए ।

मादल बनाउनलाई चाहिने छाला, काठहरु पनि पाइदैन । मादल खोल्नकालागि प्रदेश सरकारले मेसिन उपलब्ध गराएको भएपनि काठ नै नपाउने समस्या पनि छ । साभारः अग्रिम साप्ताहिक