वैदेशिक यात्रा बाध्यता कि फेसन ?

सागर सुबेदी
पछिल्लो समय बिदेश जाने नेपाली युवाहरुको भिड थामी नसक्नु छ । आर्थिक वर्ष २०७९/०८० मा विदेश जाने युवाको संख्या ७ लाख ७१ हजार रहेको थियो भने उक्त वर्षलाई वैदेशिक रोजगारीमा रेकर्डको वर्ष पनि मानिएको थियो । किनकी एकै आर्थिक वर्षमा यो सबैभन्दा धेरै वैदेशिक रोजगारीमा जाने युवाहरूको संख्या थियो ।

नेपालमा पर्याप्त र जीवनमुखी रोजगारीको अवसर सिर्जना नहुनु र देशको राजनीतिक अस्थिरता नटुंगिदा देशको अवस्था बदलिने र सर्वसाधारण जनताको जीवनस्तर सुध्रिने विश्वास हराउँदा युवाहरुको विदेशिने बाध्यता बढ्दै गइरहेको छ । देशमा सत्ता र कुर्सीकै लडाइ छ । राजनीतिक अस्थिरताले गर्दा देशको अर्थतन्त्रमा ठुलो धक्का दिइरहेको छ । जसले गर्दा सामान्य ज्यालादारी गरेर पनि आफ्नो परिवार पाल्न सक्ने अवस्था छैन ।

यत्ति कुरा गर्दा साँच्चीकै देशमा रोजगारी नपाएर विदेशिनु सम्मलाइ बाध्यता नै भनौँ । तर मासिक लाख सम्म कमाउने व्यापार व्यवसाय नै बन्द गरेर, मासिक ५०-६० हजार आम्दानी हुने जागिर नै त्यागेर कोही भ्रमण भिसा लगाएर उतै बस्ने त, कोही तल्लो र माथिल्लो बाटो हुँदै परदेशिने प्रवृत्ती लाइ भने फेसन नै भन्दा पनि फरक नपर्ला ।


पछिल्लो समयको डाटा हेर्ने हो भने पनि वास्तविक दुःख पाउनेहरु वैदेशिक रोजगारी सम्बन्धित ज्ञान नहुँदा गैरकानुनी ढंगबाट बिदेशिएकाहरू नै छन । धेरै धन सम्पती कमाउने मोहमा नेपालको नागरिकता त्याग गर्न समेत तयार रहने अझँ भनौँ त नेपाली पासपोर्ट च्यातेर गैरकानुनी ढंगबाट दोस्रो देश पस्ने हरु नै पछि दुःख पर्दा मेरो देशले मलाई हेरेन भन्नेहरू छन् ।

यो सानो देशमा प्रसस्त रोजगारीको अवसर नहुँदा परिवार पाल्नकै लागि बिदेशिनु बाध्यता एउटा पाटो हो भने सुख, चैन, ऐसआराम को जिन्दगी जिउने मोहका साथ भएको थोरै खुशीलाई पनि त्यागेर बिदेशिनु र दुःख पाउनु भुँइको टिप्दा पोल्टाको गुमाउनु भने जस्तै हो ।

बिदेशिएको साथीले लगाएको महङ्गो पहिरन, चढेको महङ्गो मोटर गाडी र चलाएको महङ्गो स्मार्ट फोनबाट प्रभावित भएर बिदेश जाने सपना बुन्नु लाइ बिदेशिनु बाध्यता हो भनेर भन्नै मिल्दैन । साभारः अग्रिम साप्ताहिक