सर्वोच्चको आदेशपछि रिगल पक्राउ

काठमाण्डौ, १६ कार्तिक ।  कैद मिनाहा गर्ने निर्णय कार्यान्वयन खारेज गर्ने सर्वोच्च अदालतको आदेशसँगै रिगल भनिने योगप्रसाद ढकाल पक्राउ परेका छन् । उनी नेपालगञ्जबाट पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । सर्वोच्चको आदेश आएको केहीबेरमै रिगललाई नेपालगञ्जको सेतु विक चोकबाट पक्राउ गरेको बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीले जानकारी दिनुभयो । सर्वोच्चको आदेशपछि रिगल मोबाइल अफ गरेर भाग्ने तयारीमा रहेका प्रहरीले जनाएको छ ।


तर निगरानीका कारण उनलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । रिगललाई सरकारको सिफारिसमा गएको असोज ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिनुभएको थियो । रिगलले विसं २०७२ असार २८ गते नेपालगञ्जको धम्बोझी चोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए । सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरुद्ध चेतनकी श्रीमतीले गएको असोज २२ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । रिगलले ११ वर्ष ११ महिना पाँच दिन कैद सजाय भुक्तान गर्न बाँकी थियो ।