दाङमा ‘राडर गन’ सहित ट्राफिक प्रहरी सडकमा

देव राज कँडेल
तुलसीपुर, ६ कार्तिक ।

चाडपर्वको समयमा हुन सक्ने सम्भावित सवारी दुर्घटनालाई रोक्न दाङ ट्राफिक प्रहरीले सवारी चेकजाँचलाई तिव्रता दिएको छ । जिल्ला बाहिरिने, भित्रिने र विभिन्न स्थानीय रुढमा सञ्चालन हुने मोटरसाइकल, स्कुटी, जिप, कार, बस, ट्रक, ट्रेक्टरलाई रोकेर चेकजाँच गर्ने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।

तिव्र गति र मादक पदार्थ सेवनका कारण सम्भावित सवारी दुर्घटना हुन सक्ने भएकाले मापसे नगर्न, तिव्र गतिमा नचलाउन र क्षमता भन्दा बढी सामान सवारी साधनमा नराख्न भन्दै चालकलाई सम्झाउने गरेको जिल्ला ट्राफिक प्रमुख किरण प्रकाश मल्लले जानकारी दिनुभयो ।

तीब्र गति र ओभरटेकलाई ट्राफिक प्रहरीले सबैभन्दा बढी दुर्घटनाको कारण मानेको छ । हिन्दु नेपालीहरूको महान पर्व बडादसैं र तिहारको समयमा सपरिवार बसेर रमाइलो मनाउने बेला सामान्य हेलचेक्र्याइँ अप्रिय घटना हुँदा त्यसले जोसुकै मानवलाई पनि पीडाबोध बनाउने भन्दै दुर्घटना न्यूनिकरणका लागि सचेतना अभियान चलाएको प्रमुख मल्लले जानकारी दिनुभयो । एक सातादेखि दाङका प्रमुख शहर तुलसीपुर, नारायणपुर, घोराही, लमही, भालुबाङ, अमिलिया, गढवा लगायतका स्थानमा राडर गन सहित ट्राफिक सचेतना अभियान सञ्चालन गरिएको छ ।


सडकको छेउमा वा घरको छतमा राखेर सवारी कुन गतिमा गुडेको छ भनेर राडर गनले परैबाट पत्ता लगाउने गर्छ । ट्राफिक प्रहरीले सोमबार तुलसीपुर बजारमा पैदलयात्रुका लागि बाटो वारपार गर्न जेब्राक्रसिङ निर्माण, अटो व्यवस्थापनका लागि चालकसँग छलफल गरेको छ भने गोठीखोला र सात तलेमा पुगेर सवारी चेकजाँच गरेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमखु महेन्द्र चन्दले जानकारी दिनुभयो । ट्राफिक प्रहरीले बिहान, दिउँसो र साँझपख सवारी चेकजाँचलाई केन्द्रित गरेको छ ।